नागरिक केयर सेन्टर तिहारअघि सञ्चालन हुने

विराटनगर : विराटनगरका नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीको सहयोगमा निर्माण सुरू गरिएको नागरिक केयर सेन्टर तिहारअघि नै सञ्चालन हुने भएको छ।
नागरिक केयर सेन्टर निर्माण समितिका संयोजक पवनकुमार सारडाले नागरिक केयर सेन्टर तिहारअघि नै सञ्चालनमा गर्ने गरि काम भइरहेको जानकारी दिए। शैया
प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिनदिनै बढिरहेको र प्रदेशका अस्पतालमा भेन्टिलेटर अभाव भइरहेकाले निजी क्षेत्रले विराटनगरमा सय शय्याको अक्सिजनसहितको नागरिक केयर सेन्टर निर्माण सुरू गरेका थिए।
नागरिक केयर सेन्टर विराटनगर महानगरपालिकासँगको सहकार्यमा निजी क्षेत्रले निर्माण गर्ने र प्रदेश सरकारले सञ्चालन गर्ने समझदारी भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको आह्वान र अवधारणामा विराटनगरमा जनसहभागितामा नागरिक केयर सेन्टरको निर्माण थालिएको थियो।
केयर सेन्टरका लागि रोटरी क्लबले ३०, उद्योगपति राजेन्द्र राउतले २०,महेश जाजूले २०, राउन्ड टेबलले २० र लायन्स क्लबले १० वटा शय्यासहित तिनका लागि आवश्यक सामग्री उपलब्ध गराएका छन्।
कोरोना केयर सेन्टरले भेन्टिलेटरमा राख्ने बिरामीको संख्यामा कमी ल्याउने छ। भेन्टिलेटरमा लैजानुअघि बिरामीलाई अक्सिजन दिने र औषधि उपचार गर्ने केयर सेन्टरको अवधारणा छ।
मन्त्रीद्वारा अनुगमन
विराटनगरमा निर्माणाधिन नागरिक केयर सेन्टरको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शनिबार अनुगमन गरेका छन्। घिमिरेसहित विराटनगर महानगरापलिकाका मेयर भीम पराजुली र निजी क्षेत्रका प्रतिनिधिहरूले संयुक्तरूपमा अनुगमन गरेका हुन्।
निर्माणाधिन अस्पतालको अनुगमनपछि मन्त्री घिमिरेले नागरिक केयर सेन्टर चाडै सञ्चालनमा ल्याइने जानकारी दिए।
महानगरपालिकाका प्रमुख पराजुलीले सरकारले निर्माण गर्दा प्रक्रियागत झण्झटका कारण धेरै समय लाग्ने भएकाले निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल निर्माण थालिएको जानकारी दिए। उनले विराटनगरलगायत प्रदेशभर नै संक्रमितको संख्या बढिरहेका कारण अक्सिजन शय्या सहितको अस्पताल आवश्यक परेको बताए।
हाल प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना अस्पताल परिसरमै नागरिक केयर सेन्टरको निर्माण थालिएको छ। विशेष गरी भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या घटाउने र शय्या अभावमा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न नागरिक समाजको अगुवाईमा नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको हो।
अनुगमनमा नागरिक केयर सेन्टर निर्माण समितिका संयोजक पवनकुमार सारडा, वरिष्ठ उद्योगी महेश जाजुलगायत उद्योगी व्यवसायी सहभागी थिए।
कात्तिक १५, २०७७ शनिबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।