बँदेलको ५५ किलो मासुसहित तीन जना पक्राउ

काठमाडौं : कपिलवस्तुमा बँदेलको ५५ किलो मासुसहित तीन जना पक्राउ परेका छन्।
बाणगंगा नगरपालिका–१० मा दुई वटा मोटरसाइकलमा बोरामा राखेर लैजादै गरेको अवस्थामा उक्त परिणामको मासुसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमा सुद्धोधन गाउँपालिकाको हरनामपुरका हरिप्रसाद थारू र श्रवणकुमार चौधरी तथा बाणगंगा नगरपालिका–११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयले जनाएको छ।
लु३९प ३४३० र युपी५५एबी २०२७ नम्बरको मोटरसाइकलमा बँदेलको मासु लगिएको सुराकीका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरि डिभिजन वन कार्यालय, पिपरा पठाएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूले भारतीय व्यापारीबाट आफूहरूले सात हजार भारतीय रूपैयाँमा मासु किनेको बयान दिएको बताइएको छ। पक्राउ परेकाहरूमाथि वन्यजन्तु ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।
बरामद गरिएको मासुलाई स्थानीयवासी र पत्रकारको रोहवरमा डिभिजन वन कार्यालयमा गाडेर नष्ट गरिएको छ।
कात्तिक १५, २०७७ शनिबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।