निजी अस्पतालको अनुगमन

विराटनगर : निजी अस्पतालहरूले कोरोना उपचारमा चर्को शुल्क असुल्न थालेको गुनासो बढेपछि विराटनगरका निजी अस्पतालको अनुगमन थालिएको छ।
जिल्ला अनुगमन समितिले शुक्रबारदेखि विराटनगरका निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा लिएको शुल्कबारे अनुगमन सुरू गरेको हो।
वाणिज्य कार्यालय, मोरङका निमित्त प्रमुख सन्तोष पोखरेलको नेतृत्वमा शुक्रबार गएको अनुगमन टोलीले मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालको अनुगमन गरेको छ।
अनुगमनका क्रममा अस्पतालले सरकारले तोकेको मापदण्डविपरीत अस्वभाविक शुल्क लिएको पाइएको बाणिज्य कार्यालय, मोरङका निमित्त प्रमुख पोखरेलले बताए। उनका अनुसार विराट शिक्षण अस्पतालले नर्मल बेडको दैनिक ५ देखि २० हजार र भेन्टिलेटरको दैनिक ५० हजार रूपैयाँसम्म शुल्क लिएको पाइएको छ। अस्पतालले लिएको शुल्कबारे अस्पताल प्रशासनसँग पनि छलफल गरेको पोखरेलले बताए।
अस्पताल प्रशासनले कोरोना संक्रमित बिरामीको उपचारमा खटिने जनशक्तिलाई बढी तलब दिनुपरेको, कोरोना संक्रमितको उपचारका लागि महँगा उपकरण थप गर्नुपरेको र कोरोनाको बिरामीको उपचार गर्दा प्रयोग हुने पिपिई लगायतका स्वास्थ्य सामाग्रीहरू एकपटक मात्रै प्रयोग गर्न मिल्ने भएकाले खर्च धेरै लागेको बताएको छ।
‘अस्पतालले लिएको शुल्क अस्वभाविक देखिएको छ,’ पोखरेलले भने, ‘स्वास्थ्य मन्त्रालय र विज्ञहरूसँग परामर्शपछि आवश्यक निर्णय गरिने छ।’
अनुगमन टोलीलाई विराट शिक्षण अस्पतालले कोरोनाको नभई अन्य रोगको उपचारका लागि धेरै खर्च लागेको जवाफ पनि दिएको छ।
शुक्रबार निजी अस्पतालले लिएको शुल्क र धेरै शुल्क लिनुको कारणहरू सोधपुछ गरि तथ्यांक संकलन गरिएको पोखरेलले बताए। आइतबार विराटनगरका कोरोना संक्रमितको उपचार गर्ने अन्य अस्पतालको पनि अनुगमन गरिने पोखरेलको भनाइ छ।
विराटनगरका अस्पतालले बेड शुल्क र कोरोनाको बिरामीलाई प्रयोग गर्ने औषधिको मूल्य अस्वभाविक लिएको गुनासो बिरामीका आफन्तहरूले गरेका छन्।
निजी अस्पतालले उपचारका नाममा चर्को असुली थालेपछि नेपाली कांग्रेस, विराटनगर समितिले बिहीबार पत्रकार सम्मेलन गरि शुल्क घटाउन सरकारसँग माग गरेको थियो। तत्कालै शुल्क नियन्त्रण नगरे आन्दोलनमा उत्रने नेपाली कांग्रेस, विराटनगर नगरसमितिले चेतावनी दिएको थियो।
कात्तिक १४, २०७७ शुक्रबार २१:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।