प्लेअफ पुग्ने पहिलो टोली बन्यो मुम्बई

प्लेअफ पुग्ने पहिलो टोली बन्यो मुम्बई
रोयल च्यालेन्जर्सविरुद्धको खेलमा मैदान प्रवेश गर्दै मुम्बई इण्डियन्सका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी सिजनको १३ औं खेलमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंग्ससँग पराजित भएपछि मुम्बई प्लेअफमा पुगेको हो। 

मुम्बई १२ खेलबाट १६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। जारी सिजनमा अन्य तीन टिमले मात्रै १६ अंक बनाउन सक्ने सम्भावना भएपछि मुम्बई प्लेअफका लागि छनोट भएको हो। 

लिग चरणपछि अंकतालिकाको शीर्ष चार स्थानमा रहेका टोली प्लेअफ खेल्न पाउँछन्। 

जारी सिजनमा रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली क्यापिटल, किंग्स इलेभन पञ्जाब अंकतालिकामा क्रमशः दोस्रोबाट चौथोमा छन्। समान १२ खेल खेलेका बैंग्लोर तथा दिल्लीले समान १४ अंक बटुल्दा पञ्जाबको १२ अंक छ। जारी सिजनमा यी तीन टोलीले मात्रै १६ अंक बनाउने सम्भावना छ।

यस्तै, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स अंकतालिकामा क्रमशः पाँचौंबाट आठौं स्थानमा छन्। अंकतालिकामा कोलकाताको १२ र  हैदरावाद, राजस्थान र चेन्नईको समान १० अंक छ।

तर, कोलकाता र चेन्नईले समान १३ खेल खेलेका छन् भने हैदरावाद र राजस्थानले १२ खेल मात्रै खेलेका छन्। 

बिहीबार राति सम्पन्न खेलमा कोलकाता चेन्नईसँग ६ विकेटले पराजित भएको हो। १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले खेलको अन्तिम बलमा छक्का प्रहार गरेपछि नतिजा आफ्नो पक्षमा पारेको हो।  

क्रिकइन्फो डट कम
 

कात्तिक १४, २०७७ शुक्रबार ००:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।