मुम्बई इण्डियन्स प्लेअफ नजिक

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा मुम्बई इण्डियन्स मुम्बई प्लेअफ नजिक पुगेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा बुधबार अबेर राति सम्पन्न खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हरायो।
जितसँगै मुम्बईको अंकतालिकामा १२ खेलबाट १६ अंक भएको छ। समान खेल खेलका बैंग्लोर, दिल्ली क्यापिटल, किंग्स इलेभन पञ्जाब क्रमशः दोस्रोबाट चौथोमा छन्। बैंग्लोर र दिल्लीको समान १४ अंक भए पनि पञ्जाबको १२ अंक छ।
यस्तै, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स अंकतालिकामा क्रमशः पाँचौंबाट आठौं स्थानमा छन्। कोलकाताको १२, हैदरावाद तथा राजस्थानको समान १० र चेन्नईको ८ अंक छ।
बुधबार सम्पन्न खेलमा १६५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा जित हासिल गर्याे। सूर्यकुमार यादवले अविजित रहँदै ७९ रन जोडेपछि मुम्बईले निर्धारित ओभर अगावै खेल जितेको हो। मुम्बईका लागि इसान किसनले २५, क्विन्टन डि ककले १८, हार्दिक पाण्ड्याले १७ रनको योगदान दिए।
बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराज र युजबेन्द्र चहलले समान २ तथा क्रिस मोरिसले १ विकेट चट्काए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो। उसका लागि देवदत्त पाडिक्कलले सर्वाधिक ७४ रन बनाएका थिए। यस्तै, जोश फिलिपले ३३ र एभी डिभिलियर्सले १५ रन बनाएका थिए।
बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, क्यारोन पोलार्ड, राहुल चहर र ट्रेन्ट बोल्टले समान १ विकेट लिएका थिए।
क्रिकइन्फो डट कम
कात्तिक १३, २०७७ बिहीबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।