पञ्जाबको लगातार पाँचौं जित, अंकतालिकामा चौथो

पञ्जाबको लगातार पाँचौं जित, अंकतालिकामा चौथो
जितपछि खुसी मनाउँदै किंग्स इलेभन पञ्जाबका खेलाडी, अफिसियललगायत। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्ना सुरुवाती ७ खेलमध्ये ६ मा पराजित भएको किंग्स इलेभन पञ्जाब पछिल्ला ५ खेलमा अपराजित छ।

पञ्जाबले लगातार पाँचौं जित हासिल गर्ने क्रममा सोमबार अबेर राति कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो। 

जितसँगै पञ्जाब अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। उसको १२ खेलबाट १२ अंक छ। पञ्जाबले प्लेअफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ। 

हारसँगै कोलकाता अंकतालिकामा एक स्थान तल पाँचौंमा झरेको छ। उसको १२ खेलबाट १० अंक छ। 

१५० रनको लक्ष्य पछ्याएको पञ्जाबले १८.५ ओभरमा जित हासिल गर्याे। उसका लागि म्यान अफ द म्याच क्रिस गेलले ५१ रनको पारी खेले। २९ बलको सामना गरेका गेलले आफ्नो पारीमा २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, मन्दीप सिंह ६६ रनका अविजित रहँदा कप्तान केएल राहुलले २८ रन बनाए। 

बलिङतर्फ कोलकाताका वरुण चक्रवर्ती र लकी फरगुसनले समान १ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो। उसका लागि शुभमान गिलले सर्वाधिक ५७ रन जोडेका थिए। यस्तै, कप्तान इओन मोर्गनले ४० र लकी फरगुसनले अविजित रहँदै २४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेका थिएनन्।  

बलिङतर्फ पञ्जाबका मोहम्मद सामीले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, रवि बिस्नोई तथा क्रिस जोर्डनले समान २ लिँदा तथा अर्शदीप सिंह तथा ग्लेन म्याक्सवेलले समान १ विकेट चट्काएका थिए। 

क्रिकइन्फो डट कम

*सच्याइएको

कात्तिक ११, २०७७ मंगलबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।