स्ट्रोक्सको शतकले राजस्थानसँग मुम्बई पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले पराजित गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा आइतबार अबेर राति सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई हराउँदै प्रतियोगितामा पाँचौं जित निकालेको हो।
जितसँगै राजस्थान एक स्थान माथि अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। मुम्बई भने शीर्ष स्थानमा यथावत छ।
राजस्थानले १९६ विशाल लक्ष्य १८.१ ओभरमा पूरा गर्याे।
उसका लागि बेन स्ट्रोक्सले अविजित रहँदै १०७ रन बनाए। उनले आफ्नो पारीमा १४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, सञ्जु सैमसन ५४ रनमा अविजित रहे।
बलिङतर्फ मुम्बईका जेम्स प्याटिन्सनले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन जोडेको थियो। उसका लागि हार्दिक पाण्ड्याले अविजित रहँदै ६० रन प्रहार गरेका थिए। २१ बल सामना गरेका उनले आफ्नो पारीमा दुई चौका र सात छक्का प्रहार गरेका थिए। यस्तै, सूर्यकुमार यादवले ४०, इशान किसनले ३७ र सौरभ तिवारीले ३४ रन बनाएका थिए।
बलिङतर्फ राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले समान २ विकेट लिँदा कार्तिक त्यागीले १ विकेट चट्काएका थिए।
त्यसअघि आइतबार भएको पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ८ विकेटको जित निकालेको थियो।
क्रिकइन्फो डट कम
कात्तिक १०, २०७७ सोमबार ०६:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।