घरभित्रै सामान्य जमघट गरेर दसैं मनाऔं : शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दसैंमा हुने जमघट र ओहोरदोहोरले कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप फैलाउन सक्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर परिवार-परिवार बीचमा सामान्य जमघटसहित मनाउन आग्रह गरेका छन्।
दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाक्यले यस्तो आग्रह गरेका हुन्। ‘बडादसैंमा हुने जमघट र ओहो-दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्छ। त्यसैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै बडादसैंलाई परम्पराको जगेर्ना र पाहुना सत्कारबाट टाढा रही घरभित्रै परिवारका सीमित सदस्यका बीचमा सामान्य जमघटसहित मनाऔं,’ शाक्यले जारी गरेको सन्देशमा भनिएको छ, ‘कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडादसैं सहितका पर्वलाई विगतजस्तै खुसीयालीका साथ स्वतन्त्र भई उल्लासमय वातावरणमा मनाउने नै छौं।’
उनले केही समयदेखि विश्व महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को कहरले यतिबेला विश्व नै सन्त्रासमय भएको भन्दै नेपाल पनि पछिल्लो समय कोभिड–१९ कारण थप पीडामा गुज्रिएको उल्लेख गरेका छन्।
‘यो वर्षको दसैं कोभिड–१९ महामारीका बीचमा मनाउन गइरहेका छौँ,’ उनले भनेका छन्, ‘यस्तो जटिल परिस्थितिमा उच्च सावधानीका साथ कोभिड-१९ को नियन्त्रण र व्यवस्थापन गर्दै कोरोनाको कहरबाट विजय प्राप्त गर्न सबैलाई शक्ति र आत्मवल प्राप्त होस् भन्ने कामना प्रकट गर्न चाहन्छु।’
उनले समाजलाई एकताबद्ध बनाई मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो बनाउन पनि दसैंको महत्त्व रहेको उल्लेख गरे।
कात्तिक ९, २०७७ आइतबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।