मासु खान जाने लाभ, नजाने रोग

मासु खान जाने लाभ, नजाने रोग

दसैं भन्नेबित्तिकै मिठोमसिनो खानपानको कुरा आउँछ। आफन्त तथा परिवारसँग भेटघाट गर्ने तथा मिठो परिकार खाएर आनन्दले मनाउने चाड हो दसैं।

दसैंमा मासुका मिठा परिकार बनाएर खाइन्छ। मासु सन्तुलित र तरिका पुर्याएर खाए लाभ हुन्छ। तर, असन्तुलित रूपमा मासु खानाले भने स्वास्थ्यमा नकारात्मक असर गर्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। 

खान जाने लाभ 

वीर अस्पतालका डा. सुशील मोहन भट्टराईका अनुसार मासुमा शरीरलाई आवश्यक पोषण तत्त्व हुन्छ। मासुमा मुख्यगरी प्रोटिन तथा फ्याटजस्ता तत्त्व पाइन्छ। जुन तत्त्व शरीरलाई आवश्यक हुन्छ। त्यसैगरी खनिज तत्त्व, क्याल्सियम, म्याग्नेसियम, जिंकजस्ता भिटामिन तथा पोषण तत्त्व मासुमा पाउन सकिन्छ। 

शरीरलाई आवश्यक भिटामिन ‘ए’, ओमेगा ३ फ्याट एसिडजस्ता तत्त्व मासुमा पाइने डा. भट्टराई बताउँछन्। उनले भने, ‘कलेजोमा आइरन र भिटामिन ‘ए’ प्रशस्त पाइन्छ।’ यो तत्त्व शरीरमा आवश्यक हुन्छ। 

मासुमा पोषण तत्त्व पाइने भएकाले शरीरको वृद्धि विकास तथा मजबुतीका लागि लाभदायक हुने जनस्वास्थ्यविज्ञ डा. अरूणा उप्रेती बताउँछिन्। 

चिकित्सकका अनुसार मुख्यगरी बढ्दो उमेर समूहका बालबालिका तथा किशोर किशोरीले सन्तुलितरूपमा स्वस्थ मासु खानाले शरीरको वृद्धि विकासमा लाभ मिल्छ। 

मासुमा पाइने प्रोटिनका कारण सन्तुलित रूपमा मासु खानाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ, जसले शरीर मजबुत हुन्छ। मासुमा पाइने क्याल्सियमका कारण हड्डी मजबुत भइ खिइने समस्याबाट बच्न सकिने चिकित्सक बताउँछन्। 

शरीरका कोषिकको पुनः उत्पादन गर्ने पौष्टिक तत्त्व मासुमा पाइने भएकाले पाको उमेरका व्यक्तिले सन्तुलितरूपमा मासु तथा हड्डीको सुप खान चिकित्सकको सल्लाह छ। मासुमा पाइने प्रोटिनले मरेका कोषिका पुनः उत्पादनमा सहयोग गर्ने चिकित्सक बताउँछन्। 

तारेको˗भुटेको नखाएकै राम्रो

मासुका फाइदासँगै केही बेफाइदा पनि भएको चिकित्सक बताउँछन्। धेरै फ्राइ गरेको, तारेको तथा भुटेको जस्ता परिकार सकभर नखान डा. उप्रेतीको सुझाव छ। मासुका यस्ता परिकारले शरीरमा बोसोको मात्रा बढाउने भएकाले मासुका परिकार सन्तुलितरूपमा खान चिकित्सक सुझाउँछन्। 

चिकित्सकका अनुसार शरीरमा बोसोको मात्रा बढी हुँदा मुटुमा समेत असर पुग्छ। शरीरमा बोसोको मात्रा बढी हुँदा रगतका धमनिमा जम्छन्। जसले रक्तप्रवाह नै कम हुने र हृदयघातको जोखिम हुने चिकित्सक बताउँछन्। त्यसैले सन्तुलितरूपमा स्वस्थ मासु खान डा. अर्जुन बढाथोकीको सुझाव छ। 

धेरै तारेको, भुटेको, पोलेको, सेकुवा बनाएको, तास बनाएको मासुका परिकारले क्यान्सरको समेत जोखिम हुने भएकाले सकभर यस्ता परिकार नखान क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यको सुझाव छ। डा. आचार्य भन्छन्, ‘मासुका परिकार धेरै खाँदा समेत क्यान्सरको जोखिम हुन्छ।’ 

पटक–पटक तेलमा तारेरसमेत मासु खान नहुने चिकित्सक सुझाउँछन्। त्यसैगरी एक पटक पकाएको तेलमा फेरि परिकार पकाउनु हुँदैन। 

जनस्वास्थ्यविज्ञ डा. उप्रेती मासुलाई फ्रिजमा राख्दै झिक्न नहुने बताउँछिन्। आवश्यकता अनुसार मात्रै झिक्न उनको सुझाव छ। डा. उप्रेतीले भनिन्, ‘पटकपटक फ्रिजमा राख्दै तथा झिक्दै गर्दा मासुमा भएको पोषण तत्व नष्ट हुन्छ।’ 

मासु पकाउने मामलामा पनि निकै ख्याल गर्नु पर्ने चिकित्सकको सुझाव छ। चिल्लो कम हालेर पकाई झोलिलो किसिमका मासु खानु उचित हुने डा. उप्रेती सुझाउँछिन्। बोसिलो मासुलाई पानीमा बफाएर चिल्लो कम गर्न सकिन्छ। 

प्राकृतिक चिकित्सक डा. डीबी सुनुवार उसिनेको मासु खानु स्वास्थ्यका लागि लाभदायक हुने बताउँछन्। पक्कु लगाएको मासु पनि संक्रमित हुन सक्ने भएकाले २÷३ दिनभन्दा बढी राखेर खान नहुने डा. सुनुवारको सुझाव छ।

रातो मासुमा सजग

उच्च रक्तचाप र सुगरको समस्या भएका व्यक्तिलाई पनि मासुले असर गर्न सक्छ। विशेषगरी यस्ता रोगको समस्या भएका व्यक्तिमा रातो मासुले हृदयघातको जोखिम बढ्ने डा. भट्टराई बताउँछन्। ‘पाको उमेरका व्यक्तिका लागि पनि रातो मासु त्यति लाभदायक हुँदैन,’ डा. भट्टराईले भने, ‘रातो मासुले प्रेसर र सुगर बढ्न सक्छ।’

प्रेसर, सुगरजस्ता समस्या बढ्दै गए मुटु, आँखा, मृगौलाजस्ता अंगमा असर हुन्छ। त्यसैले रक्तचाप तथा सुगरको समस्या भएका व्यक्तिले रातो मासु नखानु नै उचित हुने चिकित्सकको सुझाव छ। 

विशेषगरी पाको उमेरका व्यक्तिका लागि रातो मासु लाभदायक नहुने चिकित्सक बताउँछन्। खसी–बोका तथा राँगाको मासु रातो हुन्छ। त्यसैले रातो मासुभन्दा कुखुरा, माछाको मासु खानु लाभदायक हुने चिकित्सकको सुझाव छ। 

कुनै रोग तथा दीर्घ रोगको समस्या भएका व्यक्तिले मासु खाँदा सचेत हुनुपर्छ। मुटु, रक्तचाप, सुगरजस्ता रोगको समस्या भएका व्यक्तिले रातो र चिल्लो मासु खान नहुने चिकित्सक सुझाउँछन्। सुगरको समस्या भएका व्यक्तिले मिठाइजस्ता गुलियो परिकार नखानु नै उचित हुन्छ। 

युरिक एसिडको समस्या भएका व्यक्तिलाई मासु तथा मदिराले असर गर्ने भएकाले सचेत हुन चिकित्सकको सुझाव छ। चिकित्सकका अनुसार बियर र मासु युरिक एसिडका दुश्मन हुन्। त्यसैगरी, युरिक एसिडको समस्या भएका व्यक्तिले गुडागुडी पनि खानु नहुने डा. भट्टराईको सुझाव छ। साकाहारी भोजन गर्ने व्यक्तिले पनि पनिर लगायतका परिकारमा चिल्लो धेरै हुने भएकाले यस्ता परिकार खाँदा सचेत हुनुपर्ने डा. उप्रेती बताउँछिन्। 

मसला कमै हालौं

बजारमा पाइने तयारी (कृत्रिम) मसलामा नखानु नै उचित हुने चिकित्सकको सुझाव छ। बेसनको प्रयोग गर्नु पनि उचित हुँदैन। सन्तुलितरूपमा मसलाको प्रयोग गर्नुपर्छ। लसुन, जिराको दाना, ल्वाङ, दालचिनी, अदुवाजस्ता मसला शरीरका लागि लाभदायक हुने डा.सुनुवार बताउँछन्। 

मासुमा धेरै मसला हाल्न हुँदैन। बढी मसला तथा पिरो हालेको मासु खाँदा ग्याट्रिकजस्ता पेटसम्बन्धी विभिन्न समस्या उत्पन्न हुने डा. भट्टराई बताउँछन्। ‘धेरै चिल्लो पिरोले अल्सरको सम्भावना हुन्छ,’ उनले भने, ‘अल्सर भएका व्यक्तिमा अल्सर फुट्ने सम्मको जोखिम हुन्छ।’

चिकित्सकका अनुसार पित्तथैलीको पत्थरी भएका व्यक्तिलाई चिल्लो पचाउन मुस्किल पर्छ। धेरै चिल्लो, मसला तथा पिरो हालेको मासु खानाले पेट ढुस्स फुल्ने, बान्ता हुने, वाकवाकी लाग्ने, पेट दुख्नेजस्ता समस्या हुने भएकाले सचेत भएर मासु लगायतका परिकार खान डा. सुनुवारको सुझाव छ। 

ताजा अचार लाभदायक

चिकित्सकका अनुसार खाँदेको तथा लामो  समय राखेको अचार खानु हुँदैन। खाँदेर लामो समय राखेको अचारमा पौष्टिक गुणस्तर (भ्यालु) घट्ने भएकाले यस्तो अचार सकेसम्म नखान चिकित्सकको सुझाव छ। 

खाना पचाउनका लागि एन्टिअक्सिडेन्टको काम गर्ने भएकाले ताजा अमिलो अचार खानु उचित हुने चिकित्सक सुझाउँछन्। डा. भट्टराई भन्छन्, ‘अमिलोमा भिटामिन ‘सी’ पाइन्छ, जसले खाना पचाउन सहयोग गर्छ।’ त्यसो त डा. सुनुवार पनि कागती, निबुवा लगायतका अमिलोले मासु लगायतका परिकार पचाउन सहयोग गर्ने बताउँछन्।

त्यसैले, मासु लगायतका परिकार खाएपछि ताजा अचार तथा अमिलो खान सकिने डा. सुनुवार बताउँछन्। अमिलोले चाँडै पाको हुने प्रक्रियालाई कम गर्नुका साथै विभिन्न रोगको जोखिमबाट समेत बच्न सकिने चिकित्सकको सुझाव छ। 

मासुसँगै सागसब्जीमा जोड गरौं

डा. भट्टराईका अनुसार कार्बोहाइड्रेड करिब ५० प्रतिशत, प्रोटिन ४० प्रतिशत र चिल्लो १० प्रतिशत पौष्टिक आहार शरीरमा आवश्यक हुन्छ। दैनिक करिव ३०० ग्राम मासु खानु उचित हुने डा. सुनुवार बताउँछन्। 

हामीले खाने खानपानमा यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। दाल, चना तथा विभिन्न किसिमका गेडागुडीमा प्रोटिन पाइने चिकित्सक बताउँछन्। त्यसैले मासु नखाने व्यक्तिले यस्ता गेडागुडी, सागसब्जी तथा फलफूल खान सकिन्छ। 

दसैंमा मासु, रक्सी खाँदा आन्द्राको चाल बिग्रिने भएकाले विभिन्न रोगको जोखिम हुनेतर्फ किचित्सक सजग गराउँछन्। आन्द्राको चाल बिग्रँदा पाचन प्रक्रियामा असर पुग्छ। त्यसैले फाइबरयुक्त खानपानले पाचन प्रक्रिया सहज हुन्छ। 

हरियो सागपात, तरकारी तथा फलफूलमा फाइबर पाइने भएकाले मासुसँगै सागसब्जी तथा फलफूल खान डा. उप्रेतीको सुझाव छ। 
फाइबरयुक्त तरकारी नखाई मासु मात्रै खाँदा पायल्स, फिस्टुला, फिसरजस्ता समस्याको जोखिम हुन्छ। त्यसैले, मासुसँगै हरियो सागसब्जी, तरकारी तथा फलफूल खान डा.भट्टराई सल्लाह दिन्छन्। सागसब्जी, गाँजर, मुला, लौका, चिचिन्डा, फर्सी, इस्कुस, सिमी लगायतका तरकारीमा फाइबरयुक्त हुन्छन्। 

बोसो जम्न नदिन व्यायाम

दसैं जस्तो पर्वमा मासु लगायतका परिकार खाने तर समय कम भइ व्यायाम छुटेको हुन सक्छ। व्यायाम कम हुँदा मासु लगायतका खाएको परिकार पचाउन मुस्किल पर्छ। व्यायामले पाचन खाएको परिकार पचाउन सहयोग मिल्छ। शरीरमा बोसो जम्मा हुन पाउँदैन। व्यायाम गर्नाले रक्तचाप, सुगरजस्ता समस्याबाट बच्न सकिन्छ। त्यसैले दैनिक कम्तीमा आधा घण्टा व्यायाम गर्न चिकित्सकको सुझाव छ। 

कात्तिक ९, २०७७ आइतबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।