लगातार चौथो जित निकाल्दै पञ्जाब पाँचौंमा 

लगातार चौथो जित निकाल्दै पञ्जाब पाँचौंमा 
सनराइजर्स हैदरावादविरुद्ध आफ्नो टिमले जित निकालेपछि खुसी मनाउँदै किंग्स इलेभन पञ्जाबकी मालिक प्रिती जिन्टा (सेतो सर्टमा)। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलेभन पञ्जाबले लगातार चौथो जित हासिल गर्ने क्रममा सनराइजर्स हैदरावादलाई १२ रनले पराजित गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई)मा शनिबार अबेर राति भएको खेलमा पञ्जाबले हैदरावादलाई हराउँदै अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। यसअघि पञ्जाब छैठौं स्थानमा थियो।

आफ्ना सुरुवाती ७ खेलमध्ये १ मा मात्रै जित निकालेको पञ्जाबले पछिल्ला चार खेलमा लगातार जित हासिल गरेको छ। उसको ११ खेलबाट अंकतालिकामा १० अंक छ। 

खेलअघि अंकतालिकाको छैठौं स्थानमा रहेको हैदरावाद हारपछि एक स्थान तल झरेको छ। उसको ११ खेलबाट ८ अंक छ। 

शनिबार सम्पन्न खेलमा १२७ रनको सामान्य लक्ष्य पछ्याएको पञ्जाबले १९.५ ओभरमा ११४ रनमा सीमित भयो। उसका लागि डेभिड वार्नरले सर्वाधिक ३६ रन बनाए। यस्तै, विजय शंकरले २६, जोनी बेरिस्टोले १९ र मनिष पाण्डेले १५ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 

बलिङतर्फ हैदरावादका क्रिस जोर्डन र अर्शदीप सिंहले ३ ३ विकेट लिए। यस्तै, रवि बिस्नोई, मोर्गन आश्विन र मोहम्मद सामीले समान १ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन जोडेको थियो। उसका लागि निकोलस पुरनले अविजित रहँदै ३२ रन बनाएका थिए। यस्तै, केएल राहुलले २७, क्रिस गेलले २० र मन्दीप सिंहले १७ रन जोडेका थिए। 

बलिङतर्फ हैदरावादका रासिद खान, जेसन होल्डर र सन्दीप शर्माले समान २ विकेट लिएका थिए। 

त्यसअघि शनिबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटललाई ५९ रनले पराजित गरेको थियो। 

क्रिकइन्फो डट कम

आइपिएल टि २० डट कम
 

कात्तिक ९, २०७७ आइतबार ०६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।