ग्रामथानमा जेष्ठ नागरिक ग्राम

ग्रामथानमा जेष्ठ नागरिक ग्राम
प्रस्तावित जेष्ठ नागरिक ग्रामको मोडल

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा जेष्ठ नागरिक ग्राम निर्माणको तयारी गरिएको छ। प्रदेश १ को सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा मोरङको ग्रामथानमा अत्याधुनिक सुविधा सम्पन्न जेष्ठ नागरिक ग्राम निर्माण गर्न लागेको हो।

जेष्ठ नागरिक ग्रामको गुरुयोजना निर्माणको काम सुरू गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जेष्ठ नागरिक ग्रामको गुरुयोजना निर्माणका लागि स्थानियसँग छलफल गरी सुझावसमेत लिइसकिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए। ‘जेष्ठ नागरिक ग्रामबारे स्थानिय गाउँपालिकाका जनप्रतिनिधी, विभिन्न पार्टीका प्रतिनिधी र सरोकारवालासँछ छलफल गरि मन्त्रालयले सुझाव लिइसकेको छ’ घिमिरेले भने‘सरोकारवालाको सुझावलाईसमेत समेटेर जेष्ठ नागरिक ग्रामको गुरुयोजना निर्माण , डिजाईन र संरचना निर्माण गरिने छ।’

१० विघा १४ कठ्ठा क्षेत्रफलमा निर्माण हुने जेष्ठ नागरिक ग्रामको डिपीआरलगायतका प्रारम्भीक काम सम्पन्न भइसकेको छ। जेष्ठ नागरिक ग्राममा ७२ वटा घर निर्माण गर्ने मन्त्रालयको योजना छ।

जीवनको उत्तराद्र्धमा सम्मानजनक रुपमा जीवन यापन गर्न चाहने जेष्ठ नागरिकहरूका लागि उक्तग्राम निर्माण गरिएको हो। आर्थिक अवस्था मजवुत हुँदा हुँदै पनि वेग्लै बस्न चाहने जेष्ठ नागरिकलाई सम्मान पूर्वक बस्ने व्यवस्था गर्न जेष्ठ नागरिक ग्राम निर्माण गर्न लागिएको हो। जेष्ठ नागरिक ग्राम निर्माणको परियोजना सम्पन्न भएपछि हालसम्म नेपालमा स्थापना भएका जेष्ठ नागरिक आश्रम भन्दा स्तरीय बन्ने सामािजक विकास मन्त्रालयको दाबी छ।

जेष्ठ नागरिक ग्राममा बस्न चाहने जेष्ठ नागरिकले ग्रामले उपलब्ध गराउने सेवा सुविधाका आधारमा निर्धारित रकम तिर्नुपर्ने हुन्छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा जेष्ठ नागरिक ग्राम निर्माणका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

जेष्ठ नागरिक ग्रामसँगै चिल्ड्रेन पार्क पनि निर्माणको तयारी गरिएको छ। चिल्ड्रेन पार्क भने स्थानिय ग्रामथान गाउँपालिकाले निर्माण गर्ने छ। चिल्ड्रेन पार्कलाई बालबालिकाका लागि ज्ञान केन्द्रका रुपमा विकास गर्ने योजना  रहेको छ।  

 

 

कात्तिक ८, २०७७ शनिबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।