राजस्थानलाई हराउँदै हैदरावाद पाँचौं स्थानमा 

राजस्थानलाई हराउँदै हैदरावाद पाँचौं स्थानमा 
राजस्थान रोयल्सविरुद्ध जितपछि सेलिब्रेसन गर्दै सनराइजर्स हैदरावादका विजय शंकर र मनिष पाण्डे (दायाँ)। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदरावाद राजस्थान रोयल्सलाई हराउँदै अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। 
 

संयुक्त अरब इमिरेट्स (युएई)मा बिहीबार अबेर राति भएको खेलमा हैदरावादले राजस्थानमाथि ८ विकेटको जित निकाल्यो। 

जारी सिजनमा चौथो जित निकालेको हैदरावादले अंकतालिकामा दुई स्थान सुधार गर्याे। यसअघि ऊ अंकतालिकाको सातौं स्थानमा थियो। हैदरावादले १० खेलबाट ८ अंक बटुलेको छ। 

हैदरावादभन्दा एक खेल बढी खेलेको राजस्थान भने हारसँगै अंकतालिकाको सातौं स्थानमा झरेको छ। उसको ११ खेलबाट ८ अंक भए पनि रनरेटका आधारमा हैदरावादभन्दा पछि छ। 

१५५ रनको लक्ष्य पछ्याएको हैदरावादले १८.१ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्याे। उसका लागि मनिष पाण्डेले ८३ र विजय शंकर ५२ रनमा अविजित रहे। त्यसअघि हैदरावादले प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर र जोनी बेरिस्टोको जोडीलाई सुरुमै गुमाएको थियो। खेलको २.४ ओभरमा १६ रनको स्थितिमा दुई विकेट गुमाएको हैदरावादको पारी पाण्डे र शंकरले सम्हालेका थिए। 

हैदरावादको दुवै विकेट जोफ्रा आर्चरले लिए। उनले ४ ओभरमा २१ रन खर्चिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो। उसका लागि सञ्जु सैमसनले सर्वाधिक ३६ रन जोडेका थिए। यस्तै, बेन स्ट्रोक्सले ३०, रियान परागले २० र स्टिभ स्मिथ तथा रविन उथप्पाले समान १९ रनको योगदान दिएका थिए। यसैगरी, जोफ्रा आर्चर भने १६ रनमा अविजित रहेका थिए। 

बलिङतर्फ हैदरावादका जेसन होल्डरले ३ र विजय शंकर तथा रासिद खानले समान १ विकेट लिएका थिए। 

क्रिकइन्फो डट कम

कात्तिक ६, २०७७ बिहीबार २३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।