कोलकातालाई हराउँदै बैंग्लोर दोस्रोमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मो कोलकाता नाइट राइडर्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा आज (बुधबार) अबेर राति सम्पन्न खेलमा बैंग्लोरले कोलकातामाथि ८ विकेटको फराकिलो जित हासिल गरेको हो।
जितसँगै बैंग्लोरले १० खेलबाट १४ अंक बटुलेको छ। यसअघि १२ अंकसहित दोस्रो स्थानमा रहेको मुम्बई इण्डियन्स भने एक स्थान तल झरेको छ।
अंकतालिकाको शीर्ष स्थानमा दिल्ली छ। दिल्लीको बैंग्लोरसँग समान अंक भए पनि रनरेटका आधारमा ऊ अगाडि छ।
८५ रनको झिनो लक्ष्य पछ्याएको बैंग्लोरले खेलको १३.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्याे। उसका लागि देवदत्त पाडिक्कालले २५ र आरोन फिन्चले १६ रन जोडे। यस्तै, विराट कोहली १८ र गुरकिरत सिंह २१ रनमा अविजित रहे।
बलिङतर्फ कोलकाताका लकी फरगुसनले १ विकेट लिए। बैंग्लोरका एक खेलाडी भने रनआउट भएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै जोड्न सकेको थियो। उसका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन जोडेका थिए। यस्तै, कुलदीप यादवले १२ र टोम बेल्टोनले १० रन जोडे। अर्का खेलाडी लकी फरगुसन १९ रनका अविजित रहे। अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।
बलिङतर्फ कोलकाताका मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिएका थिए। उनले दुई मेडन फालेका थिए। यस्तै, युजबेन्द्र चहलले २ तथा वासिंटन सुन्दर र नवदीप सैनी समान १ विकेट चट्काएका थिए।
खेलमा बैंग्लोरले चार ओभर बलिङ मेडन गर्याे, जसमा मोहम्मद सिराजले दुई र क्रिस मोरिस तथा वासिन्टन सुन्दरले समान एक ओभर बलिङ मेडन गरेका थिए।
क्रिकइन्फो डट कम
कात्तिक ५, २०७७ बुधबार २३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।