तिलोत्तमाले निःशुल्क पिसिआर परीक्षण र शव व्यवस्थापन गर्ने

तिलोत्तमाले निःशुल्क पिसिआर परीक्षण र शव व्यवस्थापन गर्ने

भैरहवा : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिने निर्णय गरेको छ।

कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेको हो। 

यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो।

शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकारपछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो। 
बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ। 

तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन्। यस्तै ३ सय २५ जना सक्रिय संक्रमित छन्।

बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ। 

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पिसिआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो। 

संघीय सरकारले सबैको पिसिआर परीक्षण समेत निःशुल्क नगर्ने निर्णय सार्वजनिक गरिरहँदा तिलोत्तमा नगर सरकारले त्यसको जिम्मेवारी समेत आफैंले लिने निर्णय गरेको हो।

यस्तै नगरपालिकाले शंकरनगर आइसोलेशन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णय समेत गरेको छ। 

कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्नु परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेशनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पुर्याउने निर्णय गरेको हो। 

हाल आइसोलेशनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सिसिएमसी बैठकले गरेको कार्यवाहक नगर प्रमुख चौधरीले बताइन्।

हाल तिलोत्तमाको आइशोलेसनमा अन्य पालिकाबाट जाँच भइ आएका २२ जना संक्रमति छन्। 

बैठकले संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गर्दै घर–घरमा आयुर्वेदिक जडिबुटी पुर्याउने कार्यक्रमलाई निरन्तर दिने निर्णयसमेत गरेको छ। 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले कोरोना महामारी सुरु भएपछि संघीय सरकारबाट संक्रमण रोकथाम, उपचार तथा राहतको लागि २ लाख र प्रदेश सरकारबाट १५ लाख रुपैंयाँ नगरपालिकाको खातामा आएको जानकारी दिए।

बैठकले दसैं–तिहार पर्वमा बाहिरी जिल्ला तथा भारत एवं तेस्रो मुलुकबाट नगरपालिकामा आउने नगरबासीलाई स्वास्थ्य प्रोटोकललाई ख्याल राख्दै सिधैं समाजमा घुलमिल नहुन आग्रह गरेको छ।

कात्तिक ५, २०७७ बुधबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।