पञ्जाबको लगातार तेस्रो जित

पञ्जाबको लगातार तेस्रो जित
दिल्ली क्यापिटलविरुद्ध सट प्रहार गर्दै किंग्स इलेभन पञ्जाबका निकोलस पुरन। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलेभन पञ्जाबले दिल्ली क्यापिटलमाथि ५ विकेटको जित हासिल गरेको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा मंगलबार अबेर राति सम्पन्न खेलमा पञ्जाबले दिल्लीलाई हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो। 

प्रतियोगितामा १० खेल खेलेको पञ्जाबको समग्रमा यो चौथो जित हो। जितसँगै ऊ अंकतालिकामा ८ अंक बटुल्दै पाँचौं स्थानमा उक्लिएको छ। यसअघि ऊ अंकतालिकाको सातौं स्थानमा थियो। 

समान खेल खेलेको दिल्ली भने १४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा कायमै छ। 

१६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले खेलको १९ औं ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्याे। उसका लागि निकोलस पुरनले सर्वाधिक ५३ रन जोडे। यस्तै, ग्लेन म्याक्सवेलले ३२ र क्रिस गेलले २९ रनको योगदान दिए। 

बलिङतर्फ दिल्लीका कागिशो रवाडाले २ तथा अक्षर पटेल र रविचन्द्र आश्विनले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४  रन जोडेको थियो। उसका लागि शिखर धवनले अविजित रहँदै १०६ रनको पारी खेलेका थिए। अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। 

बलिङतर्फ पञ्जाबका मोहम्मद सामी २, ग्लेन म्याक्सवेल, मोर्गन आश्विन र जेम्स निसमले समान १ विकेट लिएका थिए। 

क्रिकइन्फो डट कम

कात्तिक ४, २०७७ मंगलबार २३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।