स्वास्थ्य उपकरण हस्तान्तरण

कोरोनाको उपचारमा सहजताका लागि विराटनगर महानगरले युएनडिपीको सहयोगमा आएका सामाग्री प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र युएनडिपी प्रदेश १ का प्रमुख धनबहादुर चन्दले उक्त सामाग्री हस्तान्तरण गरे।
महानगरको समन्वयमा युनएनडिपीले पिसिआर टेस्टमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्राक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका सामाग्री हस्तान्तरण गरेको हो।
७५ लाख मूल्य बराबरका तीनवटा स्वास्थ्य उपकरण प्रदेश ल्याब तथा कोभिड अस्पताल र विराटनगरको वैझनाथपुरमा रहेको आइसोलेसन केन्द्रमा प्रयोगमा ल्याइने जनाइएको छ।
कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताए।
विराटनगर र धरानस्थित कोभिड अस्पताललाई थप विस्तार गर्दै जाने उनको भनाइ छ। ‘विराटनगरमा १५ वटा भेन्टिलेटर थप जडान गर्ने योजना छ,’ घिमिरेले भने।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा अक्सिजनसहित सय बेडको अस्पताल सञ्चालन गर्न लागेको बताए। कोभिड रोकथाम उपचार तथा नियन्त्रणका लागि महानगरपालिकाले सम्पूर्ण शक्ति लगाइरहेको पराजुलीको दाबी छ।
कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, कोशी अस्पताल, विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल लगायतको सहभागिता थियो।
कात्तिक ३, २०७७ सोमबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।