ललितपुर नगर प्रहरी अब नयाँ पोशाकमा

ललितपुर नगर प्रहरी अब नयाँ पोशाकमा
ललितपुर महानगरपालिका कार्यालयको प्रांगणमा सोमबार नयाँ पोशाक लगाएका नगर प्रहरी। तस्बिर : प्रतिक रायमाझी।

काठमाडौं : ललितपुर नगर प्रहरी अब नयाँ पोशाकमा देखिने भएका छन्। ललितपुर महानगरपालिका कार्यालयको प्रांगणमा सोमबार नगर प्रमुख चिरिबाबु महर्जनले ७२ जना नगर प्रहरीलाई नयाँ पोशाक हस्तान्तरण गरे। 

नयाँ पोशाक हल्का हरियो रङको छ। यसअघि नगर प्रहरीको पोशाक भारतीय प्रहरीको जस्तो थियो। 

नगर प्रहरीलाई काममा उत्प्रेरित गर्न र उनीहरूप्रति अरुले हेर्ने दृष्टिकोण बदल्न नयाँ पोशाक तोक्न आवश्यक रहेको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताए।

‘पोशाकले व्यक्तित्व झल्काउनुका साथै अरुले हेर्ने सोचमा पनि परिवर्तन ल्याउँछ,’ उनले भने। 

उनले महानगरको निर्देशन अनुसार नगर प्रहरी जनतासँग समन्वय गरेर अघि बढ्ने बताए। उनका अनुसार नगर प्रहरीले फुटपाथ तथा सडक अतिक्रमण नियन्त्रण, मठ–मन्दिरको जर्गेना एवं संरक्षण, ट्राफिक तथा पार्किङ व्यवस्थापनलगायत काम गर्ने छ। 

कात्तिक ३, २०७७ सोमबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।