मोरङमा राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा 

मोरङमा राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा 

विराटनगर : मोरङमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना प्रकाशित गरि आज (कात्तिक ३)देखि १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो। 

संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम संक्रामक रोग कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। 

निषेधाज्ञाको समयमा लामो दूरीका सवारीसाधनबाहेक आवत–जावतमा पूर्णरूपमा रोक लगाइएको छ। यस्तै, निषेधाज्ञा अवधिमा जिल्लाभरका धार्मिक स्थल र शक्तिपीठहरूमा नित्य पूजाबाहेक कुनै पनि क्रियाकलाप गर्न नपाउने, सामूहिकरूपमा भेला भइ चियापान, शुभकामना आदानप्रदान, सभा, सम्मेलन लगायतका कार्यक्रम गर्न नपाइने प्रशासनले जनाएको छ। 

प्रदेश १ को झापा र सुनसरीमा पनि सोही समयमा निषेधाज्ञा जारी गरिसकेका छन्। 

कात्तिक ३, २०७७ सोमबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।