घटे दसैंमा उपत्यका छाड्नेहरू 

घटे दसैंमा उपत्यका छाड्नेहरू 
काठमाडौंको थानकोटमा सवारी चेकजाँच गर्दै प्रहरी। फाइल तस्बिर।

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यो वर्ष दसैंमा उपत्यका छाड्नेको संख्या न्यून देखिएको छ।

अघिल्ला वर्ष यो समयमा दसैं मनाउन घर जानेको लर्को लाग्ने गरेकोमा यो वर्ष भने उपत्यका छाड्नेको संख्या न्यून देखिएको हो। 

घटस्थापनाअघि एक महिनाको तथ्यांक हेर्ने हो भने दैनिक साढे १८ हजार उपत्यका भित्रिरहेका छन् भने झण्डै २० हजारले उपत्यका छाडिरहेका छन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महिनायता उपत्यका भित्रिने र बाहिरिनेको संख्यामा खासै फरक नभएको जनाएको छ। 

महाशाखाको तथ्यांक अनुसार असोज १ देखि कात्तिक १ गतेसम्म उपत्यकामा १ लाख ४० हजार १८६ सवारीमार्फत ५ लाख ५४ हजार ५३७ यात्रु भित्रिएका छन्। यस्तै, १ लाख ३९ हजार ८३ सवारीमार्फत ६ लाख ५५४ यात्रु बाहिरिएका छन्। यो तथ्यांक थानकोट, साँगा, दक्षिणकालीलगायत नाकाको हो। 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव यस वर्ष कोरोना महामारीका कारण घर फर्कनेको संख्या घटेको बताए।

‘अघिल्ला वर्ष दसैंका बेला उपत्यकाबाट बाहिरिनेको संख्या उच्च र भित्रिनेको संख्या न्यून हुन्थ्यो। तर, अहिले भित्रिने र बाहिरिनेको संख्या बराबरजस्तै छ,’ उनले भने। 

घटस्थापनाको दिन गत शनिबार ४ हजार ७२१ सवारीमार्फत २१ हजार ४७२ यात्रु उपत्यकाबाट बाहिरिएका छन्  भने ४ हजार ४०७ सवारीमार्फत १६ हजार ६३९ यात्रु भित्रिएका छन्। यसैगरी, शुक्रबार ४ हजार ७६३ सवारीमार्फत १७ हजार ६१५ यात्रु बाहिरिँदा ४ हजार ६८८ सवार मार्फत २१ हजार ६०४ यात्रु उपत्यका भित्रिएको महाशाखा तथ्यांकले देखाउँछ। 

कोरोना महामारीका कारण सरकारले यातायात सञ्चालनमा जोरबिजोर प्रणालीलाई जारी राखेको छ। त्यस्तै, न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरि सिट क्षमतामा यात्रु ओसारपसारको अनुमति दिएको छ। 

महाशाखाले मापदण्ड, भाडादर तथा सवारी सञ्चालनमा आवश्यक सुरक्षाका अपनाए/अपनाएको बारे अनुगमन गरि कारबाही गरिरहेको जनाएको छ।

सरकारले यस वर्ष आफू रहेकै ठाउँमा दसैं मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्तै, जनस्वास्थ्यविद्हरूले समेत दसैंमा सहरबाट गाउँ फर्किंदा संक्रमण फैलन सक्ने खतरा औंल्याएका छन्।

दसैंमा घर जान नपाएकाहरूसमेत सचेत रहेर आफू रहेकै स्थानमा दसैं मनाउने योजनामा रहेको देखिन्छ।

कात्तिक २, २०७७ आइतबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।