असई हत्या प्रकरणमा ११ जना पक्राउ

धनगढी : कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जनालाई छानबिनको लागि पक्राउ गरेको छ।
अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको बताए।
बिकको धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ। विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने छ सिंहले जानकारी दिए।
विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी जवान रामबहादुर साउद अझैँ भेटिएका छैनन्।
नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ। नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ।
असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए।
शनिबार राति गस्तीमा गएका उनीहरु राति अबेर सम्म सम्पर्कमा नआउँदा खोजीगर्ने क्रममा आइतबार बिहान बिकको शब नदीमा भेटिएको थियो। तस्करहरुले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
कात्तिक २, २०७७ आइतबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।