दिल्ली पुनः शीर्ष स्थानमा

दिल्ली पुनः शीर्ष स्थानमा
चेन्नई सुपर किंग्सविरुद्ध जितपछि खुसी मनाउँदै दिल्ली क्यापिटलका शिखर धवन र अक्षर पटेल। तस्बिर : आइपिएल टि २० डट कम।

संयुक्त अरब इमिरेट्स (युएई)मा शनिबार अबेर राति भएको खेलमा दिल्लीले चेन्नईलाई ५ विकेटले पराजित गर्याे। 

जारी सिजनमा सातौं जित निकालेको दिल्ली मुम्बई इण्डियन्सलाई २ अंकले पछि पार्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीको ९ खेलबाट १४ अंक छ भने एक खेल कम खेलेको मुम्बईको १२ अंक मात्रै छ। 

यसअघि गत शुक्रबार कोलकाता नाइट राइडर्सलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको थियो। 

१८० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमै लक्ष्य पूरा गर्याे। उसका लागि शिखर धवनले अविजित रहँदै १०१ रन जोडे। अक्षर पटेल भने २१ रनमा अविजित रहे। यस्तै, मार्कस स्टोनिसले २४ र श्रेयस ऐयरले २३ रनको योगदान दिए। 

बलिङतर्फ चेन्नईका दीपक चहरले २ तथा ड्वेन ब्राभो, सैम कुरान र सार्दुल ठाकुरले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन जोडेको थियो। उसका लागि फाप डु प्लेसिसले सर्वाधिक ५८ रन जोड्दा सेन वाटसनले ३६ रन बनाएका थिए। यस्तै, अम्बाती रायडु ४५ र रवीन्द्र जडेजा ३३ रनमा अविजित रहे। 

बलिङतर्फ दिल्लीका एनरिच नोर्टजेले २ तथा कागिशो रवाडा र तुहार देशपाण्डेले १ १ विकेट लिए। 

जारी प्रतियोगितामा चेन्नई ९ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ। 

यसअघि आजै सम्पन्न पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको छ। 

क्रिकइन्फो डट कम
कोलकाता नाइट राइडर्सविरुद्ध जितपछि खुसी मनाउँदै मुम्बई इण्डियन्सका क्विन्टन डी कक र हार्दिक पाण्ड्या। तस्बिर ः आइपिएल टि २० डट कम। 
 

कात्तिक २, २०७७ आइतबार ००:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।