कोलकातालाई हराउँदै मुम्बई पुनः शीर्षमा

संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबार अबेर राति भएको खेलमा मुम्बईले कोलकातालाई ८ विकेटले पराजित गर्याे।
जारी सिजनमा छैटौं जित निकालेको मुम्बई दिल्ली क्यापिटललाई रनरेटका आधारमा पछि पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ। यी दुवै टोलीको समान १२ अंक छ।
यसअघि गत बुधबार दिल्ली राजस्थान रोयल्समाथि १३ रनको जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। त्यसअघि शीर्ष स्थानमा रहेको मुम्बई दिल्लीको जितपछि दोस्रो स्थानमा झरेको थियो।
१४९ रनको लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमै लक्ष्य पूरा गर्याे। उसका लागि म्यान अफ द म्याच क्विन्टन डि ककले अविजित रहँदै सर्वाधिक ७८ रन जोेडे। यस्तै, हार्दिक पाण्ड्या पनि २१ रनमा अविजित रहे। यसैगरी, कप्तान रोहित शर्माले ३५ र सूर्यकुमार यादवले १० रन बनाए।
बलिङतर्फ कोलकाताका बरुण चक्रवर्ती र शिवम नाबीले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन जोडेको थियो। उसका लागि तल्लो क्रममा ब्याट्सम्यान प्याट कमिन्सले अविजित रहँदै सर्वाधिक ५३ रन जोडेका थिए। कप्तान इयान मोर्गन पनि ३९ रनमा अविजित रहेका थिए।
यस्तै, शुभमान गिलले २१ र आन्द्रे रसलले १२ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन्।
बलिङतर्फ मुम्बईका राहुल चहरले २ तथा जसप्रित बुमराह, ट्रेन्ट बोल्ड र नाथन कुन्टर नायलले समान १ विकेट लिएका थिए।
जारी प्रतियोगितामा कोलकाता ८ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ।
क्रिकइन्फो डट कम
कात्तिक १, २०७७ शनिबार ०१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।