ग्रामीण बस्तीमा सशस्त्र प्रहरीको कोरोना सचेतना

भैरहवा : ग्रामीण बस्तीलाई लक्षित गरेर सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीले कोभिड–१९ बारे जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ।
संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न र रोगबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा सशस्त्र प्रहरीले ग्रामीण बस्तीहरुमा सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको हो।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले ग्रामीण बस्तीहरुमा अझैँ पनि कोरोनाको जाखिमबारे जानकारी नभएको बताए।
‘कोरोनाबाट बच्न नागरिकले सुरक्षा मापदण्ड अपनाउनेबारे केही कराहरु सिकुन भन्ने उद्देश्यले सचेतना कार्यक्रम संचालन गरेका हौँं’ उनले भने।
सशस्त्रले सिद्धार्थनगर नगरपालिका–११ स्थित भुजौली गाउँलगायत रुपन्देहीका १२ वटा ग्रामीण बस्तीहरुमा कोभिड–१९ का बारेमा सचेतना जगाएको हो।
ग्रामीण बस्तीहरुमा मास्कको प्रयोग नपाइएको, सावुन पानीले हात धुने बानी नभएको र हात धुने तरिकासमेत थाहा नभएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै कोभिड–१९ बारे जानकारी नभएको, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कुरा थाहा नभएको पाइएको सशस्त्रले जनाएको छ।
‘ग्रामीण बस्तीका नागरिकले सामान्य सुरक्षा पनि नअपनाएको पाइयो। हामीले हरेक तौरतरिका सिकायौं’ पोखरेलले भने, ‘यसबाट नागरिकमा सचेत हुने बानीको विकास हुन्छ की भन्ने हाम्रो अपेक्षा छ।’
सशस्त्रले बालबालिका, गृहणी महिला र बृद्धबृद्धालाई लक्षित गरी सचेतना कार्यक्रम गरिएको र यो फलदायी हुने विश्वास सशस्त्रको छ।
सचेतना कार्यक्रममा आएका अधिकांशले मास्क नलगाएको, भौतिक तथा सामाजिक दूरी कायम नगरेको पाइएको थियो।
असोज ३०, २०७७ शुक्रबार १२:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।