पञ्जाबसँग बैंगलोर फेरि पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ।
जारी सिजनमा पञ्जाबले बैंगलोरमाथि दोस्रो जित हासिल गरेको हो। यसअघि प्रतियोगिताको छैटौं खेलमा पञ्जाबले बैंगलोरलाई ९७ रनले पराजित गरेको थियो।
संयुक्त अरब इमिरेट्समा आज (बिहीबार) अबेर राति भएको खेलमा १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले खेलको अन्तिम बलमा लक्ष्य पूरा गर्याे। खेलको अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहेकोमा निकोलस पुरनले छक्का प्रहार गरेपछि पञ्जाबले पाँच खेलपछि जित हासिल गरेको हो।
पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै ६१ रन जोडे। यस्तै, क्रिस गेलले ५३ र मयंक अग्रवालले ४५ रनको योगदान दिए।
बलिङतर्फ बैंगलोरका युजबेन्द्र चहलले १ विकेट लिए। उनले मयंक अग्रवाललाई बोल्ड गरे। यस्तै, क्रिस गेललाई देवदत्त पाडिक्कल र एभी डिभिलियर्सले रनआउट गरे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन जोडेको थियो। उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडेका थिए।
यस्तै, शिवम दुवे २३ र आरोन फिन्चले २० रन बनाउँदा क्रिस मोरिस २५ र इसुरु उडाना १० रनमा अविजित रहेका थिए।
बलिङतर्फ पञ्जाबका मोर्गन आश्विन र मोहम्मद सामीले समान २ विकेट लिँदा क्रिस जोर्डन र अर्शदीप सिंहले १/१ विकेट चट्काएका थिए
खेलको म्यान अफ द म्याच केएल राहुल घोषित भए।
जारी प्रतियोगितामा ८ खेल खेलेको पञ्जाबको यो दोस्रो जित हो। पञ्जाब ४ अंकसहित अंकतालिकाको पुछारमा छ। समान खेल खेलेको बैंगलोर भने १० अंकसहित अंकतालिकामा तेस्रो स्थानमा कायमै छ।
क्रिकइन्फो डट कम
असोज २९, २०७७ बिहीबार २३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।