सकिएको छैन मनसुन, दसैंमा वर्षाको सम्भावना

सकिएको छैन मनसुन, दसैंमा वर्षाको सम्भावना

काठमाडौं : यस वर्षको मनसुन दसैं सुरु हुँदा पनि सकिएको छैन। सामान्यतया असोज दोस्रो सातादेखि मनसुनको प्रभाव निष्क्रिय हुन्छ। तर, यस वर्ष मनसुनी वायु पूर्णरुपमा बर्हिगमन नहुँदा मनसुनको प्रभाव अझै बाँकी रहेको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १५ देखि पश्चिम नेपालबाट मनसुनी वायुको बर्हिगमन भएको भन्दै मनसुन अन्त्यको घोषणा गरेको थियो। तर, घोषणा भएको दुई सातासम्म पनि पूर्णरुपमा मनसुनी वायु बर्हिगमन नभएको महाशाखाले जनाएको छ। 

विभागले सार्वजनिक गरेको पछिल्लो मौसमी पूर्वानुमानमा कात्तिक १ गते घटस्थापनाको दिन प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ढिलो गरी सुरु भएको यो वर्षको दसैंमा पनि वर्षाको सम्भावना नटरेको विभागको पछिल्लो पूर्वानुमानले देखाउँछ। 

मौसम पूर्वानुमान शाखाका मौसमविद् राजु प्रधानाङ्ग पश्चिमी वायूले पूर्वी वायूलाई विस्थापित गर्न नसक्दा मनसुनको प्रभाव बाँकी रहेको बताउँछन्। पूर्णरुपमा मनसुनी वायु बर्हिगमनमा भने अझै केही समय लाग्ने उनको भनाइ छ।

उत्तरपश्चिम बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रका कारण विशेषगरी पूर्वी नेपालमा अझै वर्षाको सम्भावना छ। ‘मनसुनी वायुको प्रभाव रहे पनि सक्रियता भने कम देखिन्छ,’ प्रधानाङ्ग भन्छन्।

महाशाखाका अनुसार पूर्वी मनसुनी वायु बाहिरिने र पश्चिमी वायु हावी भएसँगै मनसुन निष्क्रिय हुने गर्छ।

महाशाखाका अर्का मौसमविद् बरुण पौडेल मनसुन मध्य नेपाल हुँदै पश्चिमबाट बाहिरिने क्रममा रहेको बताउँछन्। जसका लागि अझै केही समय लाग्ने उनको भनाइ छ।  ‘पूर्वी नेपालको प्रदेश १ र प्रदेश २ वर्षाको सम्भावना रहन्छ। ठूलो  झरीको सम्भावना भने देखिँदैन,’ पौडेल भन्छन्।

विभागका अनुसार समुन्द्रबाट आउने जलवाष्प आउन छाडेपछि झरी र ठूलो मात्रामा भारी वर्षाको अन्त्य हुने गर्छ। यसपछि समुन्द्री जलवाष्पको अवशेष र स्थानीय गर्मीका कारण उत्पन्न हुने जलवाष्पका कारण छिटफुट वर्षाको मात्र सम्भावना रहन्छ।

महाशाखाको पूर्वानुमान अनुसार शुक्रबार बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २९, २०७७ बिहीबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।