प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वचालित मेसिन जडान

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वचालित मेसिन जडान

भैरहवा : लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा कोभिड १९ को पीसीआर परीक्षणका लागि पूर्ण स्वचालित मेसिन जडान गरिएको छ। नमूना जाँचको रिपोर्ट आउन ढिलाई भएको भन्दै आलोचना भइरहेको बेला सामाजिक विकास मन्त्रालयले युनडीपीको सहयोगमा बिहीबार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वचालित आरएनए एक्सट्रक्सन मेसिन जडान गरी पीसिआर परीक्षण गर्न सुरु गरेको छ।

‘स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ। रिपोर्ट एक घण्टामै आउँछ’, प्रयोगशालाका ल्याव इन्चार्ज प्रेम यादवले भने।

प्रयोगशालाले यसअघि म्यानुअली आरएनए एक्सट्रक्सन विधिबाट कोरोना भाइरस संक्रमितको पीसीआर परीक्षण गर्दा ६ घण्टामा ११८ वटा मात्रै जाँच गथ्र्योे। जसअनुसार दिनमा १२ घण्टासम्म जाँच गरेमा एउटा पीसीआर मेसिनबाट जम्मा २३६ नमूना मात्रै जाँच हुन्थ्यो । ‘अब दिनमा पाँच सय बढी जाँच गर्न सकिन्छ’, यादवले भने।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वचालित पीसीआर मेसिन जडान भएसँगै लुम्बिनी प्रदेशमा तीन वटा स्वचालित मेसिन पुगेका छन्। यसअघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगंजमा स्वचालित मेसिन जडान गरिएको थियो।

परीक्षणको दायरा बढाउने भन्दै सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा नमूना जाँच गर्न मिल्ने पूर्ण स्वचालित पीसीआर मेसिन समेत खरिद सम्झौता गरिसकेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए।

उनले भने, ‘कोरोनाको जोखिम झनपछि झन बढीरहेकाले पीसीआर जाँच क्षमतालाई अझै बढाउने सरकारको योजना छ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ८ सय बढी नमूनाको लाम छ। पूर्ण स्वचालित मेसिनले परीक्षण थालेपछि त्यो लाम कम हुने प्रयोगशालाले जनाएको छ।

अहिलेसम्म यो प्रयोगशालामा ३० हजार बढी नमूना परीक्षण भएको तथ्यांक छ। लुम्बिनी प्रदेशमा रहेका ६ वटा सरकारी र दुई वटा निजी प्रयोगशालाबाट १ लाख ४३ हजार बढीको पीसीआर परीक्षण भइसकेको छ।

परीक्षण गरिएकामा १३ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने प्रदेशमा लक्षणसहितका सक्रीय संक्रमित बढीरहेका छन्।

मन्त्रालयकाअनुसार प्रदेशका केही निजी अस्पतालहरुले समेत पीसीआर मेसिन जडानको तयारी गरिरहेका छन्।

चाडबाड नजिकिँदै जाँदा रोजगारीका लागि बाह्य मुलुक गएकाहरु पनि स्वदेश फर्किने कुरालाई ध्यानमा राखेर परीक्षण दर बढाउने गरी पीसीआर मेसिन थप गर्न लागिएको प्रदेश सरकारले जनाएको छ।

‘संघ सरकारले पनि स्वचालित मेसिन प्रदेशमा पठाउँदैछ, कोरोना जोखिम बढीरहेको छ। अब सुरक्षा मापदण्ड, परीक्षण सबै बढाउनु पर्ने देखिन्छ।

सरकार यस विषयमा लागि परेको छ’, मन्त्री बरालले भने। उनले महामारीमा घण्टौंसम्म खटेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु पर्ने जनाए। युएनडीपीका प्रतिनिधिले बिहीबार मन्त्री बराललाई मेसिन हस्तान्तरण गरेका हुन्।

 

असोज २९, २०७७ बिहीबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।