स्थानीय तहलाई दमकल र प्रहरी भ्यान हस्तान्तरण

विराटनगर : अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश १ सरकारले प्रदेशका ११ जिल्लाका १-१ स्थानीय तहलाई एकएक वटा दमकल र प्रहरी भ्यान हस्तान्तरण गरेको छ। बिहिबार प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भ्यान हस्तान्तरण गरे।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५ करोड ६७ लाख २० हजार रुपैयाँमा १४ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैया बराबरका १४ वटा प्रहरी भ्यान खरिद गरेको थियो।
बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो।
सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
हस्तान्तरण गरिएका दमकल, प्रहरी भेन र एम्बुलेन्स सम्बन्धित स्थानीय तहका प्रमुख संयोजक रहेको मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन समितिमार्फत परिचालन हुने छ।
तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ,संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा ती सामाग्री हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ।
असोज २९, २०७७ बिहीबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।