गाँजा खान नदिएको झोकमा साथीको हत्या

गाँजा खान नदिएको झोकमा साथीको हत्या

झापा : बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी छन्।

इलाका प्रहरी कार्यालय अनारमनीमा बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गरेका छन्।

बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति ९ः३० बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतक र अभियुक्त दुबै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक अभिषेकले रविनलाई १०० रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए। 
कोइरालाका अनुसार रविनले गाँजा किनेर ल्याएको र सेवन गर्ने बेलामा मृतक अभिषेकले ‘तलाई दिन्न त के गर्छस्’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए। 

अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर निस्काएको अनुसन्धानबाट खुलेको छ ।

सोही घटनापछि आफू अपमानित भएको महसुस गरेर रविनले आफ्नो घर गएर बञ्चरो लिएर आएका थिए। 

अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।
 

असोज २९, २०७७ बिहीबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।