छैटौं जित निकाल्दै दिल्ली शीर्षमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा छैटौं जित निकाल्दै दिल्ली क्यापिटल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा बुधबार अबेर राति सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्यो।
जारी प्रतियोगिताको अंकतालिकामा दिल्ली १२ अंकसहित शीर्ष स्थानमा छ। यसअघि अंकतालिकाको शीर्ष स्थानमा रहेको मुम्बई इण्डियन्स दोस्रो स्थानमा झरेको छ।
१६२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो।
उसका लागि वेन स्ट्रोक्सले सर्वाधिक ४१ रन बनाए। यस्तै, रविन उथप्पाले ३२, सञ्जु सैमसनले २५ र जस बटलरले २२ रन जोडे।
बलिङतर्फ दिल्लीका एनरिच नोर्टजे र तुसार देशपाण्डेले समान २ विकेट लिए। यस्तै, रविचन्द्र आश्विन, कागिशो रवाडा र अक्षर पटेलले १ १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो। उसका लागि शिखर धवनले ५७ र श्रेयस ऐयरले ५३ रन बनाएका थिए।
बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, जयदेव उनादकटले २, कार्तिक त्यागी तथा श्रेयश गोपालले १ विकेट चट्काएका थिए।
जारी प्रतियोगितामा ८ खेल खेलेको राजस्थान ६ अंकसहित अंकतालिकाको सातौं स्थानमा छ।
क्रिकइन्फो डट कम
असोज २९, २०७७ बिहीबार ००:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।