गाउँपालिका अध्यक्षमाथि सांघातिक आक्रमण

काठमाडौं : बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि सांघातिक आक्रमण भएको छ।
संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
सुर्नया गाउँपालिकाको केन्द्र पवितामा सार्न खोजेको भन्दै स्थानीयहरुले केही दिनअघि गाउँपालिकामा तालाबन्दी गरेका थिए। केन्द्रका विषयमा बुधबार दिनभर छलफल हुँदा समेत निष्कर्ष ननिस्केपछि ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।
यस्तै, झडपमा परेर पाँच जना प्रहरी पनि घाइते भएका छन्। संघर्षरत पक्षका ६ जना घाइते भएका छन् भने अध्यक्ष विष्टसँग रहेका अन्य तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय, पाटनका प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) धनदेव साउदले जानकारी दिए। घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए।
सुर्नया गाउँपालिकाको केन्द्र पविता राख्ने गाउँ कार्यपालिकाले गत वर्ष नै निर्णय गरेको थियो। तर, स्थानीयहरुले सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।
गाउँपालिका अध्यक्षमाथि नै कुटपिट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ।
सम्भावित थप जोखिम कम गर्न सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले बताए।
तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेको छैन।
असोज २८, २०७७ बुधबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।