प्रदेश १ सरकारको मध्यावति उपलब्धि सार्वजनिक

प्रदेश १ सरकारको मध्यावति उपलब्धि सार्वजनिक

विराटनगर : प्रदेश १ को सरकारले मध्यावधि उपलब्धि बुधबार सार्वजनिक गरेको छ। 

विराटनगरमा कार्यक्रम आयोजना गरि प्रदेश सरकारले सरकार गठन भएको अढाई वर्षमा गरेका काम तथा प्राप्त भएका उपलब्धि सार्वजनिक गरेको हो।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको आकर्षणको केन्द्रविन्दुका रुपमा प्रदेश सरकार स्थापित हुँदै गएको बताए। राईले प्रदेश सरकारले अढाई वर्षमा प्रदेशका संरचनाहरू तयार पारेर आवश्यक ऐन, कानुन र कार्यविधिहरू निर्माण गर्न सफल भएको दाबी गरे।

राईले सरकारले योजनावद्ध विकासको सुरूवात गर्दै परियोजना बैंकमार्फत प्रदेश सरकारले विकासका आयोजनालाई प्राथमिकीकरण गरि अघि बढाउन लागेको जानकारी दिए।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीले सरकारका काम प्रभावित पारे पनि प्रदेश १ को सरकारले थालेका काम ५ अर्बको काम अढाई वर्षको अवधिमा सम्पन्न गरेरै छाड्ने राईले बताए।

राईले भने, प्रदेशमा सुरू गरिएका महत्वपूर्ण आयोजनाहरू अबको अढाइवर्ष भित्रै सम्पन्न गरिने छ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले शासनलाई तल्लो तहसम्म पुग्न नदिन कानुनै नबनाउने र बनाइहाले पनि कार्यान्वयनमा नलैजाने प्रवृत्ति रहेको धारणा राखे।

राणाकालीन सोच र व्यवहार अझै पनि हावी भइरहेका कारण जनताले लोकतन्त्र र गणतन्त्रको समेत अनुभूति गर्न नपाइरहेको उनको भनाइ छ। 

कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमले सरकारको मध्यावधि समीक्षा प्रस्तुत गरेका थिए।

प्रतिवेदन अनुसार प्रदेश लोकसेवा आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय प्रगति न्यून छ। 

भूमि व्यवस्था तथा सहकारी, आन्तरिक मामिला ताथ कानुन मन्त्रालय र प्रदेश योजना आयोगको प्रगति सामान्य छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रगति राम्रो रहेको प्रदेश योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ। 

योजना आयोगको प्रतिवेदन अनुसार प्रदेश सरकारको समष्टिगत उपलब्धिमा वित्तीयतर्फ ६५.३७, मन्त्रालय तर्फको उपलब्धि ६८.७७ र भौतिक पूर्वाधार तर्फको उपलब्धि ७१.९१ प्रतिशत छ।

आर्थिक वर्ष ०७५/७६मा ४ खर्ब ८० अर्ब कुल ग्राहस्थ उत्पादन रहेको प्रदेशमा ०७६/७७मा ५ खर्ब ९५ अर्ब पुगेको बताइएको छ। राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा प्रदेश १ को योगदान १५.८२ प्रतिशत छ।

असोज २८, २०७७ बुधबार २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।