धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन घाइते

धनगढी : कैलालीको धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–८ स्थित नवदुर्गा मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा ७० वर्षीय हरिलाल विष्ट, उनकी पत्नी ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएका छन्। तीमध्ये बिर्माको अवस्था गम्भीर छ।
उनीहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको कार्यालयका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक बिष्टले जानकारी दिए।
आगलागीका कारण घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
असोज २८, २०७७ बुधबार १३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।