चेन्नईले हैदरावादलाई २० रनले हरायो

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि २० रनको जित निकालेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा मंगलबार अबेर राति सम्पन्न खेलमा चेन्नईले हैदराबादलाई हराउँदै प्रतियोगिताको तेस्रो जित हासिल गरेको हो।
१६८ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो।
उसका लागि केन विलियम्सनले सर्वाधिक ५७ रन जोडे। यस्तै, जोनी बेरिस्टोले २३, प्रियम गर्गले १६, रासिद खानले १४ र विजय शंकरले १२ रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ चेन्नईका ड्बेन ब्राभो र कर्ण शर्माले २ २ विकेट लिँदा सार्दुल ठाकुर, सैम कुरान र रविन्द्र जडेजाले समान १ विकेट चट्काए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।
उसका लागि सेन वाट्सनले सर्वाधिक ४२ रन जोडेका थिए। यस्तै, अम्बाती रायडु ४१, सैम कुरान ३१ र कप्तान महेन्द्रसिंह धोनीले २१ रनको योगदान दिएका थिए। रविन्द्र जडेजा २५ रनमा अविजित रहेका थिए।
बलिङतर्फ हैदरावादका सन्दीप शर्मा, खलिल अहमद र टि नटाराजनले समान २ विकेट लिएका थिए।
जारी प्रतियोगितामा समान ८ खेल खेलेका दुवै टोलीको अंकतालिकामा बराबर अंक छ। दुवै टोलीको समान ६ अंक भए पनि रनरेटका आधारमा हैदरावाद पाँचौं स्थानमा छ भने चेन्नई छैटौं स्थानमा छ।
क्रिकइन्फो डट कम
असोज २८, २०७७ बुधबार ००:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।