लुम्बिनी क्षेत्रको निगरानी सिसिटिभी क्यामेराबाट 

लुम्बिनी क्षेत्रको निगरानी सिसिटिभी क्यामेराबाट 

भैरहवा : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका महत्त्वपूर्ण क्षेत्रको निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ।

पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्रामका विभिन्न ठाउँको सुरक्षा गर्न सिसिटिभी क्यामेरा र पिटिजेड क्यामेरा जडान गरिएको हो।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी उद्यानमा एक सय ७५ वटा सिसिटिभी क्यामेरा र २५ वटा पिटिजेड क्यामेरा जडान गरिएको छ। पिटिजेड क्यामेराले टाढाको वस्तु फोकस र जुम गरेर नजिक हेर्न मिल्छ।

यसअघि अति संवेदनशील ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको भए पनि सबै महत्त्वपूर्ण स्थानमा भने थिएन। 

अहिले एकै ठाउँबाट कन्ट्रोल हुने गरि क्यामेरा जोडिएको हो। फाइबर र वायरलेस माध्यमबाट जडान गरिएका सिसिटिभी क्यामेराबाट २४ सै घन्टा लुम्बिनी क्षेत्रको निगरानी गरिने लुम्बिनी विकास कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले जानकारी दिए।

उनले लुम्बिनी उद्यानभित्रको सुरक्षा अब डिजिटलाइज्ड भएको बताए। सबै सिसिटिभी क्यामेराको कन्ट्रोल विकास कोषमा राखिएको आइटी रुमले गरिरहेको हुन्छ। 

कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीहरूले क्यामेरामार्फत मोनिटरमा लुम्बिनी क्षेत्रको गतिविधि नियाल्छन्। 

‘हामीले लुम्बिनीका हरेक गतिविधि नियाल्छौं। कहाँ के हुन्छ, भए गरेका गतिविधि रेकर्ड गरेर राख्छौं,’ गौतमले भने, ‘कुनै घटना घट्यो वा जोखिम क्षेत्र भएजस्तो लाग्यो भने तुरुन्तै सुरक्षाकर्मी परिचालन हुन्छ।’

लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी खटिएका छन्। लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको कमान्डमा गुल्म नै लुम्बिनीमा छ। 

कोषका सदस्य सचिव ज्ञानिन राईले ‘लुम्बिनीमा सशस्त्र प्रहरीको सुरक्षाकर्मी अझै थप्न आवश्यक रहेको बताए। ‘यो अति संवेदनशील ठाउँ हो। यहाँको सुरक्षा हरेक किसिमले मजबुत हुनु पर्छ,’ राईले भने। 

प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोन एन्ड आइटी इन्सफ्राक्टक्चर परियोजनाअन्तर्गत सिसिटिभी क्यामेरा जडान भएको हो। 

कन्ट्रोल रूममा १२ वटा टिभी स्क्रिन छन्। ती स्क्रिनमार्फत् लुम्बिनी क्षेत्रको निगरानी गरिएको हो। 

आर्थिक वर्ष ०७४(०७५ मा सिसिटिभी क्यामेरा जडानको काम सुरु भएको हो। दुई वर्ष लगाएर वेभस–म्याक्स जेभीले क्यामेरा जडानको काम सम्पन्न गरेको छ। 

असोज २७, २०७७ मंगलबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।