पाँचौं जितसँगै तेस्रो स्थानमा उक्लियो बैंगलोर 

पाँचौं जितसँगै तेस्रो स्थानमा उक्लियो बैंगलोर 
कोलकाता नाइट राइडर्सविरुद्धको खेल जितेपछि सेलिब्रेसन गर्दै रोयल च्यालेन्जर्स बैंगलोरका क्रिस मोरिस र युजबेन्द्र चहल। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौ जित हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (सोमबार) अबेर राति सम्पन्न खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै प्रतियोगितामा पाँचौ जित हासिल गरेको हो।  

जारी प्रतियोगिताका ७ खेल खेलेको बैंगलोर अंकतालिकामा १० अंक छ। समान खेल खेलेको कोलकाताको अंकतालिकामा ८ अंक मात्रै छ। ऊ अंकतालिकाको चौथो स्थानमा छ। यसअघि बैंगलोर चौथो स्थानमा थियो। 

१९५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो। उसका लागि शुभमान गिलले सर्वाधिक ३४ रन जोडे। यस्तै, आन्द्रे रसेल र राहुल त्रिपाटी समान १६ रन बनाए। अन्य खेलाडीको दोहोरो अंकको रन बनाउन सकेनन्। 

बलिङतर्फ बैंगलोरका क्रिस मोरिस र वासिन्टन सुन्दरले २/२ विकेट लिए। यस्तै, युजबेन्द्र चहल, नवदीप सैनी, मोहम्मद सिराज र इसरु उडानले समान १ विकेट चट्काए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९४ रन जोडेको थियो। उसका लागि एभी डिभिलियर्सले सर्वाधिक ७३ रन बनाएका थिए। कप्तान विराट कोहली ३३ रनमा अविजित रहेका थिए। यस्तै, आरोन फिन्चले ४७ र देवदक्त पाडिक्कालले ३२ रनको योगदान दिएका थिए।

बलिङतर्फ कोलकाताको प्रसिद कृष्णा र आन्द्रे रसलले समान १ विकेट लिएका थिए। 

क्रिकइन्फो डट कम 

असोज २७, २०७७ मंगलबार ००:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।