३२ वर्षपछि सिंगो गाउँले पायो लालपूर्जा

अछाम : जिल्लाको मेल्लेख गाउँपालिका ३, ठाँटीका स्थानीयले ३२ वर्षपछि जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) पाएका छन्।
तत्कालीन कुस्कोट र ठाँटी गाविसको सीमा विवादका कारण ४ सय ७ घरधुरी लामो समयदेखि लालपूर्जाविहीन थिए।
२०४५ सालमा जग्गाको नाप जाँच सकिए पनि विवादकै कारण लालपूर्जा वितरण हुन सकेको थिएन। उक्त विवाद पछि मिलेको थियो।
तर, सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले २०५८ फागुन ४ गते जिल्ला सदरमुकाम ध्वस्त हुँदा कागजात जलेपछि त्यहाँका स्थानीयले लालपूर्जा पाउन सकेका थिएनन्।
त्यतिबेला जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा रहेका प्रमाण जलेका थिए, जसका कारण साविकको ठाँटी गाविस पूरै लालपूर्जाविहीन भएको थियो।
पुनः नापीअन्तर्गत जग्गा नापजाँच भएर सोमबार एक समारोहका बीच साढे दुई सय घरधुरीलाई लालपूर्जा हस्तान्तरण गरिएको छ। बाँकी एक सय ५७ घरधुरीलाई लालपूर्जा वितरणको प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए।
अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय, गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाही लगायतको उपस्थितिमा लालपूर्जा वितरण गरिएको छ।
असोज २६, २०७७ सोमबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।