दाङमा जिल्ला प्रशासनसहित चार कार्यालय बन्द

भैरहवा : कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएपछि दाङमा जिल्ला प्रशासन सहित चार वटा कार्यालयमा अत्यावश्यक बाहेकका काम स्थगित गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत सहितका चार सरकारी कार्यालयहरू बन्द गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए।
‘कन्ट्याक्ट ट्रेसिङका लागि तत्काल कार्यालयहरूको सेवा बन्द गरिएको हो,’ उनले भने।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत असोज ३० गतेसम्मका लागि बन्द गरिएको छ। नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन्।
यी दुई कार्यालय भने असोज २८ गतेबाट सञ्चालनमा आउने छन्।
चारै कार्यालयका संक्रमित कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। कतिपय कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरूसहित अन्यको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। कर्मचारी संक्रमित भएपछि नापी र मालपोतको काम ठप्प छ।
जिल्ला प्रशासनले शान्ति सुरक्षा, मुद्दालगायत अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द गरेको छ।
जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको अदालतले सूचनामार्फत् जानकारी दिएको छ।
असोज ३० गतेपछि नियमित काम गर्ने तयारी गरिएको स्रेस्तेदार धनसिंह गिरीले बताए। जिल्लाका मुख्य सरकारी कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्।
असोज २६, २०७७ सोमबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।