प्रदेश २ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो

प्रदेश २ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो गठन सम्बन्धि विधेयक सर्वसम्मतले पारित गरेको छ। 
 

विधेयक पारित भएसंगै प्रदेश २ सरकारले अब आफ्नै अनुसन्धान ब्युरो गठन गर्न पाउने भएको हो।

आइतबार बसेको प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो गठन सम्बन्धी विधेयक संशोधनसहित सर्वसम्मत पारित गरेको सचिवालयले जनाएको छ। 

असार ३१ गते पछि प्रदेश २ को संसद बैठक आइतबार पहिलो पटक बसेको थियो। बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संशोधनसहितको सो विधेयक सभामा लगेपछि प्रस्ताव पारित भएको हो।

विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवद्र्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ।

विधेयकमा मन्त्री परिषदले कुनै विषयमा अनुसन्धान गर्न आदेश दिएमा ब्युरोले सो को अनुसन्धान गरी प्रतिवेदन मन्त्रिपरिषद् समक्ष प्रस्तुत गर्नसक्ने उल्लेख छ। 

प्रदेश प्रमुखले यो विधेयकलाई प्रमाणिकरण गरेसँगै कानूनको रुप लिने छ। प्रदेशसभाको अर्को बैठक अहिले १ बजे बस्दै छ।

असोज २६, २०७७ सोमबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।