कोलकाता र बैंगलोरबीच प्रतिष्पर्धा आज

कोलकाता र बैंगलोरबीच प्रतिष्पर्धा आज
फाइल तस्बिर : दस्पोटर्सरुस डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (सोमबार) कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिष्पर्धा गर्दै छन्।  

दुवै टोली आजको खेल जितेर २ अंक हात पार्ने दाउमा देखिन्छन्।

दुवै टोलीले आफ्नो पछिल्लो खेल जितेका थिए। क्रिकइन्फो डट कमका अनुसार कोलकाताले आफ्नो पछिल्लो खेलमा किंग्स इलेभन पञ्जावलाई २ रनले पराजित गर्दा बैंगलोरले भने चेन्नई सुपर किंग्समाथि ३७ रनको जित हासिल गरेको थियो। 

जारी सिजनका ६ खेल खेलेका यी दुवै टोलीले समान ४ खेलमा जित हासिल गरेका छन्। 

हेड टु हेडमा कोलकाता अघि  

हेड टु हेड नतिजामा कोलकाता अघि देखिएको छ। समाचार एजेन्सी ‘दस्पोटर्सरुज डट कम’का अनुसार यी दुवै टोलीबीच भएका २५ खेलमध्ये कोलकाताले १५ खेल जितेको छ। बैंगलोरले भने १० खेलमा मात्रै सफलता पाएको छ। 

अंकतालिकामा पनि कोलकता 

जारी प्रतियोगिताको अंकतालिकामा कोलकाता अघि देखिएको छ। क्रिकइन्फो डट कमका अनुसार कोलकाताले ६ खेलबाट ८ अंक बटुलेर अंकतालिकाको तेस्रो स्थानमा छ। समान अंक हासिल गरेको बैंग्लोर रनरेटका आधारमा चौथो स्थानमा छ।  

हेड टु हेड र अंकतालिकामा कोलकाता अघि देखिए पनि उसले नै खेल जित्छ भन्ने ठोकुवा गर्न सकिँदैन। बैंगलोरले पनि जारी सिजनमा राम्रो प्रदर्शन गरिरहेको छ। त्यसकारण राम्रो खेल्ने टिमले नै खेल जित्ने छ। 

असोज २६, २०७७ सोमबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।