दिल्लीलाई हराउँदै मुम्बई शीर्षमा

दिल्लीलाई हराउँदै मुम्बई शीर्षमा
दिल्ली क्यापिटलविरुद्ध जितपछि अँगालो हालेर खुसी मनाउँदै मुम्बई इण्डियन्सका क्यारोन पोलार्ड र कुर्णाल पाण्ड्या। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटललाई हराउँदै मुम्बई इण्डियन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (आइतबार) अबेर राति सम्पन्न खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हरायो। जारी प्रतियोगिताका ७ खेलमा पाँचौं जित हासिल गरेको मुम्बई मुम्बई अंकतालिकामा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यसअघि मुम्बई दोस्रो स्थानमा थियो। 

समान ७ खेल खेलेको दिल्ली हारसँगै दोस्रो स्थानमा झरेको छ। मुम्बईसँग समान अंक भए पनि रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा छ। 

१६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्याे। उसका लागि सूर्यकुमार यादव र क्विन्टन डि ककले समान ५३ रन बनाए। इशान किसनले २८ रनको योगदान दिए। 

बलिङतर्फ दिल्लीका कागिशो रवाडाले २ विकेट लिए। यस्तै, अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कस स्टोनिसले समान १ विकेट आफ्नो नाममा लेखाए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन जोडेको थियो। उसका लागि शिखर धवनले अविजित रहँदै ६९ रन बनाएका थिए। यस्तै, कप्तान श्रेयस ऐयर ४२ रन जोडेका थिए।   

बलिङतर्फ मुम्बईका कुर्णाल पाण्ड्याले २ तथा ट्रेन्ड बोल्टले १ विकेट लिएका थिए। 

क्रिकइन्फो डट कम 

असोज २५, २०७७ आइतबार २३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।