राजस्थानको तेस्रो जित, हैदरावाद ५ विकेटले स्तब्ध 

राजस्थानको तेस्रो जित, हैदरावाद ५ विकेटले स्तब्ध 
खेल सकिएपछि एक आपसमा हात मिलाउँदै राजस्थान रोयल्स र सनराइजर्स हैदरावादका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले तेस्रो जित हासिल गरेको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (आइतबार) राति सम्पन्न पहिलो खेलमा राजस्थानले हैदरावादलाई ५ विकेटले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो। 

जितसँगै राजस्थान ७ खेलबाट ६ अंक बटुलेको छ। ऊ अंकतालिकामा एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ। 

१५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो। उसका लागि म्यान अफ द म्याच राहुल तेवाटियाले अविजित रहँदै ४५ रन बनाए। रियान पराग भने ४२ रनमा अविजित रहे। यस्तै, सञ्जु सैमसनले २६, रविन उथप्पाले १८ र जस बटलरले १६ रनको योगदान दिए। 

बलिङतर्फ हैदरावादका रासिद खान र खलिल अहमदले समान २ विकेट लिए।  

त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५८ रन जोडेको थियो। उसका लागि मनिष पाण्डेले सर्वाधिक ५४ रन जोडेका थिए। यस्तै, डेभिड वार्नरले ४८ रनको योगदान दिएका थिए। केन विलियम्सन भने २२ रनमा अविजित रहेका थिए।  

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर, जयदेव उनादकट र कार्तिक त्यागीले १/१ विकेट लिए। 

जारी प्रतियोगितामा ७ खेल खेलको हैदरावादको यो चौथो हार हो। राजस्थानसँग समान अंक भएको हैदरावाद अंकतालिकामा पाँचौं स्थानमा छ। 

अर्काे खेलमा साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल प्रतिष्पर्धा गरिरहेका छन्। दिल्लीले टस जितेर ब्याटिङ गरिरहेको छ। 

असोज २५, २०७७ आइतबार २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।