बैंगलोरसँग चेन्नई पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा आज (शनिबार) अबेर राति सम्पन्न खेलमा बैंगलोरले चेन्नईमाथि ३७ रनको जित हासिल गरेको हो।
जारी सिजनमा बैंगलोरको यो चौथो जित हो। जितसँगै बैंगलोर ६ खेलबाट ८ अंक बटुल्दै अंकतालिकामा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ।
१७० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो। उसका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए। यस्तै, नारायण जगादिसनले ३३ रनको योगदान दिए। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिए। यस्तै, वासिन्टन सुन्दरले २ तथा इसरु उडाना र युजबेन्द्र चहलले समान १ विकेट चट्काए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन जोडेको थियो। उसका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रन जोडेका थिए। यस्तै, शिवम दुवेले पनि अविजित रहँदै २२ रन बनाएका थिए। अर्का ब्याट्सम्यान देवदत्त पाडिक्कलले ३३ रनको योगदान दिएका थिए।
बलिङतर्फ चेन्नईका सार्दुल ठाकुरले २ तथा दीपक चहर र साम कुरानले समान १ विकेट लिएका थिए।
जारी प्रतियोगितामा ७ खेल खेलको चेन्नईको यो पाँचौं हार हो। ऊ अंकतालिकामा ४ अंकसहित छैटौं स्थानमा छ।
पञ्जाबको लगातार पाँचौ हार
यसअघि आज दिउँसो भएको पहिलो खेलमा किंग्स इलेभन पञ्जाब कोलकाता नाइट राइडर्ससँग २ रनले पराजित भएको छ।
१६५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको पञ्जाबले अन्तिम ३ ओभरमा २२ रन बनाउन नसकेपछि कोलकातासँग पराजित भएको हो। १७ ओभर सकिँदा १ विकेट गुमाएर १४३ रन जोडेको पञ्जाबले अन्तिम ३ ओभरमा ४ विकेट गुमायो। र, २० रन मात्रै जोड्न सक्यो।
जारी प्रतियोगितामा सात खेल खेलेको पञ्जाबको यो लगातार पाँचौ हार हो। उसले कूल ६ खेलमा हार भोगिसकेको छ। जारी प्रतियोगिताको अंकतालिकामा ऊ २ अंकसहित पुछारमा छ।
क्रिकइन्फो डट कम
असोज २४, २०७७ शनिबार २३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।