दिल्ली पाँचौं जितसहित शीर्ष स्थानमा 

दिल्ली पाँचौं जितसहित शीर्ष स्थानमा 
राजस्थान रोयल्सविरुद्धको खेल जितेपछि सेलिब्रेसन गर्दै दिल्ली क्यापिटलका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम। 

संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबार अबेर राति सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै प्रतियोगितामा पाँचौं जित हासिल गरेको छ।

जितसँगै दिल्ली ६ खेलबाट १० अंक बटुल्दै अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ। यसअघि ८ अंकसहित शीर्ष स्थानमा रहेको मुम्बई एक स्थान तल झरेको छ।  

१८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमै १३८ रनमा अलआउट भयो। उसका लागि राहुल तेवाटियाले सर्वाधिक ३८ रन बनाए। यस्तै, यशस्वी जैशवालले ३४ र कप्तान स्टिभ स्मिथले २४ रनको योगदान दिए। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

बलिङतर्फ दिल्लीका कागिशो रबाडाले सर्वाधिक ३ विकेट लिए। यस्तै, रविचन्द्र आश्विन र मार्कस स्टोनिसले समान २ विकेट चट्काए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन जोडेको थियो। उसका लागि सिमरोन हेटमायरले सर्वाधिक ४५ रन जोडेका थिए। यस्तै, मार्कस स्टोनिसले ३९ र कप्तान श्रेयर ऐयरले २२ रनको योगदान दिएका थिए। 

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ तथा राहुल तेवाटिया, कार्तिक त्यागी र एन्ड्रयु टाई १ १ विकेट आफ्नो नाममा लेखाएका थिए। 

जारी प्रतियोगितामा ६ खेल खेलको राजस्थानको यो लगातार चौथो हार हो। उसले जारी प्रतियोगितामा सुरुवाती दुई खेलमा मात्रै जित निकालेको थियो। 

क्रिकइन्फो डट कम

असोज २४, २०७७ शनिबार ००:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।