हैदरावादसँग पञ्जाब ६९ रनले पराजित

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (बिहीबार) अबेर राति सम्पन्न खेलमा हैदरावादले पञ्जाबलाई हराउँदै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो।
यससँगै हैदरावाद ६ खेलबाट ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले अंकतालिकामा तीन स्थान सुधार गरेको हो।
२०२ रनको लक्ष्य पछ्याएको पञ्जाब १६.५ ओभरमै १३२ रनमा अलआउट भयो। उसका लागि निकोलस पुरनले आक्रामण ब्याटिङ गर्दै ७७ रन जोडे। ३७ बलको सामना गरेका उनले आफ्नो पारीका पाँच चौका र सात छक्का प्रहार गरे। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङतर्फ हेैदरावादका रासिद खानले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा एक मेडन राख्दै १२ रन मात्रै खर्चिए। यस्तै, टि नटाराजन तथा खलिल अहमदले समान २ विकेट लिँदा अभिषेक शर्माले १ विकेट चट्काए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाए। २०१ रन जोडेको थियो। उसका लागि जोनी बेरिस्टोले सर्वाधिक ९७ रनको पारी खेलेका थिए। यस्तै, कप्तान डेभिड वार्नरले ५२ रनको योगदान दिए। केन विलियम्सन २० रनमा अविजित रहेका थिए।
बलिङतर्फ पञ्जाबका रवि विश्नोईले ३, अर्शदीप शर्माले २ र मोहम्मद सामीले १ विकेट लिए।
जारी प्रतियोगितामा ६ खेल खेलको पञ्जाबको यो लगातार चौथो हार हो। उसले जारी प्रतियोगितामा एक खेलमा मात्रै जित हासिल गर्न सकेको छ।
क्रिकइन्फो डट कम
असोज २२, २०७७ बिहीबार २३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।