पर्यटकको लर्को, बन्द हुँदा फर्किन्छन् मानेर झर्को

कोरोना नियन्त्रणका लागि भन्दै सरकारले पर्यटकिय क्षेत्र खोल्न रोक लगाएका कारण वेतना सिमसार सुनसान बनेको हो।
लकडाउन र निशेधाज्ञा खुलेसँगै वेतान घुम्न आउनेहरूको लर्को लाग्ने गरेको छ। तर, वेतना सिमसारको मुख्य प्रवेशद्वार नखोलिएका कारण घुम्न आउनेहरू निरास बनेर घर फर्किने गरेका छन्।
वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले सरकारले पर्यटकिय क्षेत्र सञ्चालनमा रोक लगाएका कारण घुम्न आउनेहरु त्यतिकै फर्किने गरेको बताए।
बस्नेतका अनुसार गत वर्ष दैनिक न्यूनतम ५ सय देखि ८ हजार जना सम्म पर्यटक वेतना घुम्न आएका थिए।
वेतना सिमसारमा आउने पर्यटकहरूबाट प्रवेश शुल्कवापत सिमसारले बार्षिक १ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएको छ।
कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन र निशेधाज्ञाका कारण विगत ७ महिना देखि सिमसार पूर्ण रुपमा बन्द छ।
सिमसार क्षेत्रमा आगन्तुकहरूलाई प्रवेश गर्न नदिइएका कारण सिमसारको आम्दानी पनि प्रभावित बनेको बस्नेतले बताए।
उनले सुरक्षाका मापदण्ड अपनाएर तत्कालै पर्यटकिय क्षेत्रहरू खोल्न दिन सरकारसँग माग गरे।
लामो समय सम्म पर्यटकिय क्षेत्रहरू बन्द गरिँदा यस्ता क्षेत्रको संरक्षण र व्यवस्थापनमा समस्या हुने उनले बताए।
उनले भने,‘कोरोनाकै कारण देखाएर लामो समयसम्म पर्यटकिय क्षेत्रहरू बन्द गर्नु उचित हैन।’
वेतना सिमसारमा विभिन्न जातका कछुवा, माछा, चराचुरुङ्गी जंगली जनावर र वनस्पतिका थुप्रै प्रजाति पाइन्छन्।
सहरको कोलाहलबाट केहि समय शान्त वातावरणमा रमाउन चाहनेहरूको रोजाइ पनि वेताना सिमसार बन्दै गएको छ।
यतिमात्रै हैन प्रेमिल जोडिहरू रमाउनका लागि पनि वेतना सिमसारले परिचित बनेको छ।
बनभोज खानेदेखि बालबालिकालाई घुमाउन लैजान पनि वेतना सिमसार उत्कृष्ठ गन्तव्यका रुपमा रहेको छ।
तयार हुँदै गुरुयोजना
विराटनगरदेखि करिब ५० किलो मिटर उत्तरपूर्वमा रहेको वेतना सिमसारलाई थप व्यवस्थित र आकर्षक बनाउन दीर्घकालिन गुरुयोजनाको तयारी सुरू गरिएको छ।
वेतना सिमसारको विकास र प्रर्वधनकालागि २० वर्षे गुरुयोजनाको तयारी अन्तिम चरणमा पुगेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ।
सिमसार क्षेत्रलाई २० वर्ष भित्रमा प्रदेश १ कै महत्वपूर्ण पर्यटकिय गन्तव्य बनाउन सिमसारले गुरु योजना तयार पारेको हो।
वि.सं.२०६१ सालमा वेतना सिमसार संरक्षण समिति गठन भए पछि यस सिमसार क्षेत्रको विधिवत संरक्षण कार्य अगाडी बढेको हो।
१ सय ७४ हेक्टर क्षेत्रफल रहेको यो सिमसारसहितको समुदायिक वनमा १६ प्रतिशत जमिन सिमसारले ढाकेको छ।
यस्तै करिव ७८ प्रतिशत जमिन वन जंगलले ढाकेको छ। सामुदायिक वनको ६ प्रतिशत जमिन बाँझो छ।
गुरुयोजनामा सामुदायिक वन क्षेत्रलाई तीन खण्डमा बिभाजन गरी सामाजिक , साँस्कृतिक, आर्थिक विकासका खाकाहरु समेटिएको छ।
सिमसारलाई प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गार्डेन, रिसोर्ट, हेलिप्याडलगायतका संरचना निर्माण गरिने छ।
गुरुयोजनाले तय गरेका पूर्वाधार निर्माण गर्न डेढ अर्ब रुपैयाँ भन्द बढी लागत लाग्ने अनुमान गरिएको बस्नेतले जानकारी दिए।
असोज २२, २०७७ बिहीबार १४:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।