कोलकातासँग चेन्नई १० रनले पराजित  

कोलकातासँग चेन्नई १० रनले पराजित  
म्यान अफ द म्याच पुरस्कार पाएपछि राहुल त्रिपाटी। तस्बिर : आइपिएल टि २० डट कम। 

 

संयुक्त अरब इमिरेट्स (युएई)मा बुधबार अबेर राति सम्पन्न खेलमा कोलकाताले चेन्नईलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो।

यससँगै कोलकाता ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यसअघि ऊ अंकतालिकामा चौथो स्थानमा थियो। 

एक सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५७ रनमा सीमित भयो। उसका लागि सेन वाटसनले सर्वाधिक ५० रन बनाए। यस्तै, अम्बाती रायडुले ३० तथा रवीन्द्र जडेजाले २१ रनको योगदान दिए। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। 

बलिङतर्फ कोलकाताका कमलेश नगरकोटी, बरुण चक्रवर्ती, सुनिल नरेन, आन्द्र रसेल र शिवम मावीले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ६७ रन जोडेको थियो। उसका लागि राहुल त्रिपाटीले सर्वाधिक ८१ रनको पारी खेलेका थिए। ५१ बलको सामना गरेका उनले आफ्नो पारीमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै, सुनिल नरेनले १७ रन बनाउँदा प्याट कमिन्स पनि १७ रनमा अविजित रहेका थिए। 

बलिङतर्फ चेन्नईका ड्वेन ब्राभोले ३ तथा करन शर्मा, साम कुरान र शार्दुल ठाकुरले १/१ विकेट लिए। 

खेलको म्यान अफ द म्याच त्रिपाटी घोषित भए। 

जारी प्रतियोगितामा कोलकाताले ५ खेल खेलेको छ। चेन्नईले भने ६ खेल खेलिसकेको छ। ऊ ४ अंकसहित पाँचौं स्थानमा यथावत छ। 

क्रिकइन्फो डट कम

असोज २२, २०७७ बिहीबार ००:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।