चौथो जित हासिल गर्दै मुम्बई शीर्ष स्थानमा

चौथो जित हासिल गर्दै मुम्बई शीर्ष स्थानमा
राजस्थान रोयल्सविरुद्धको खेल जितेपछि खुसी मनाउँदै मुम्बई इण्डियन्सका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता मुम्बई इण्डियन्सले चौथो जित हासिल गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (मंगलबार) अबेर राति सम्पन्न खेलमा उसले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको गर्दै चौथो जित निकालेको हो। 

यससँगै मुम्बई ८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। 

एक सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा एक सय ३६ रनमै अलआउट भयो। उसका लागि जोस बटलरले सर्वाधिक ७० रन जोडे। यस्तै, जोफ्रा आर्चरले २४ रन बनाए। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। 

बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए। यस्तै, जेम्स प्याटिन्सन र ट्रेन्ट बोल्टले समान २ विकेट लिँदा राहुल चहर र क्यारोन पोलार्डले १ १ विकेट चट्काए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९३ रन जोडेको थियो। उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाए। यस्तै, रोहित शर्माले ३५, हार्दिक पाण्ड्याले ३० र क्विन्टन डि ककले २३ रनको योगदान दिए। 
बलिङतर्फ राजस्थानका श्रेयस गोपालले २ विकेट लिँदा जोफ्रा आर्चर र कार्तिक त्यागीले समान १ विकेट चट्काए। 

जारी प्रतियोगितामा मुम्बईले ६ खेल खेल्दा राजस्थानले ५ खेल खेलेको छ। राजस्थान ४ अंकका साथ सातौं स्थानमा छ। 

क्रिकइन्फो डट कम

असोज २१, २०७७ बुधबार ००:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।