प्रस्ताव थाँती राखेर छलफल गरियोस् : कनौडिया

भैरहवा : प्रदेश ५ को प्रदेश सभा बैठक सुरु भएको छ। बैठकको सुरुमा बोल्दै काँग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले आफूहरुको चाहना मुठभेड गर्ने नभएको बताएका छन्।
सोमबार संसदमा भएको घटना संसदीय नभएको तर परिस्थिति र उत्तेजनाले घटना घट्न गएको उनले बताए।
कानून मन्त्री कुलप्रसाद केसीले उत्तेजनामा आएर अपशब्द बोलेको र काँग्रेस सांसदले उत्तेजनामा आएर कुर्सी, टेवल र माइक तोडफोड गरेको उनले जनाए। ‘हामीले मुख्यमन्त्रीलाई एक दुई दिन होल्ड गरौं सबैको अपनत्व हुनेगरी अघि बढौं भनेका थियौँ तर मान्नु भएन’ कनौडियाले भने,‘हिजोको घटना त्यसकै परिणाम हो।’
कनौडियाले सरकारले ल्याएको प्रस्तावमा कुनै विरोध नभएको तर लोकतान्त्रिक विधिबाट प्रस्ताव नल्याउँदा विरोध भएको जनाए।
‘यो सरकारसँग दुई तिहाईको बहुमत छ। राजधानीको प्रस्ताव ल्याउँदा विधी कानून, सबै मिचेर छापामार शैलीमा प्रस्ताव ल्याउनुमा हाम्रो विरोध हो’, उनले भने।
सबै बसेर सहमतिमा प्रस्ताव ल्याउन सकिने भए पनि आफूहरुसँग कुनै सल्लाह नगरिएको उनले बताए।
‘हामी ठूलाठूला राजनीतिक परिवार्तमा मिलेर अघि बढेका छौं, तर जवरजस्त गर्नु ठीक होइन’ उनले भने,‘हिजो बन्दुक उठाएका माओवादीहरु पनि मूल धारमा आएका छन्। हिजो संसदीय व्यवस्था नमान्ने माओवादीहरु आज हामीसँग संसदमा हुनुहुन्छ। यो सबै सहमतिमा भएको हो।’
प्रजातन्त्रमा पार्टी बलियो नभए स्थायित्व र राजनीति पनि बलियो नहुने भन्दै उनले प्रदेशमा सहयोगी प्रतिपक्ष हुँदाहुँदै, मुख्यमन्त्री शंकर पोखरेललाई सबै मुद्दामा सहयोग गर्दागर्दै राजधानीको विषयमा पेलेर अघि बढेको आरोप लगाए।
दुई तिहाई र बहुमतको दम्भमा पास गराउँछौं भनेर लागेको आरोप लगाउँदै उनले प्रतिपक्ष र सत्तापक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा त्यसो नभएको गुनासो गरे।
‘हामी जातीय र क्षेत्रीय पार्टी होइनौं। नेकपा र काँग्रेस दुबै दलका सबै जिल्लामा नेता कार्यकर्ता छन्, त्यसैले जहाँ राजधानी बनाए पनि सहमति हुनुपर्छ’, उनले भने, ‘हामीलाई सिंगो प्रदेशको चिन्ता छ।’
१३ जनाको समिति बनाएको तर समितिले बुझाएको राय सार्वजनिक नगरेकोप्रति उनले आक्रोस पोखे।
राजधानी कसैको रहरको विषय बनाउन नहुँने बताउँदै उनले राजधानी बनाउँदा भोलिका पुस्तालाई हेरेर बनाउनु पर्ने धारणा राखे।
मुलुकमा कोरोना महामारी व्यापक भएको र मुलुकको ढुकुटी रित्तिने अवस्था आएकाले यस्तो बेला राजधानी सार्नु ठीक नभएको उनले बताए।
राजधानी सार्दा सय अर्ब लाग्ने भएकाले त्यो बजेट नभएको उनले बताए। अब प्रस्ताव थाती राखेर अघि बढ्नु पर्ने उनले माग गरे।
आन्दोलनका क्रममा पक्राउ परेका पार्टी कार्यकर्तालाई रिहा गर्न उनले माग गरे।
असोज २०, २०७७ मंगलबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।