मुम्बई र राजस्थानको प्रतिष्पर्धा आज, कसले मार्ला बाजी ?

मुम्बई र राजस्थानको प्रतिष्पर्धा आज, कसले मार्ला बाजी ?
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथ (दायाँ)। तस्बिर : द हिन्दू डट कम

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (मंगलबार) साविक विजेता मुम्बई इण्डियन्स र राजस्थान रोयल्स प्रतिष्पर्धा गर्दै छन्। 

पछिल्ला दुई खेलमा जित हासिल गरेको मुम्बई जितको यात्रालाई निरन्तरता दिने दाउमा छ। यसअघि मुम्बईले पञ्जाबलाई ४८ र हैदरावादलाई ३४ रनले पराजित गरेको थियो। 

यता राजस्थान भने हारको यात्रालाई पूर्णविराम लगाउन चाहान्छ। राजस्थानले पछिल्ला दुई खेलमा विपक्षीलाई नतिजा सुम्पिएको थियो। राजस्थान कोलकाता नाइट राइडर्ससँग ३७ रन र रोयल च्यालेन्जर्स बैंग्लोरसँग ८ विकेटले पराजित भएको थियो। 

हेड टु हेडमा बराबरी 

हेड टु हेड नतिजामा दुवैको नतिजा बराबर छ। भारतीय समाचार एजेन्सीका अनुसार यी दुवै टोलीबीच भएका २३ खेलमध्ये दुवैले समान १० खेल जितेका छन्। एक खेलको भने नतिजा आउन सकेन।  

अंकतालिकामा मुम्बई अघि 

जारी प्रतियोगिताको अंकतालिकामा मुम्बई अघि देखिएको छ। मुम्बई ५ खेलबाट ६ अंक बटुलेर अंकतालिकाको दोस्रो स्थानमा छ। मुम्बईले अहिलेसम्म तीन खेलमा जित हासिल गर्दा दुई मा पराजयको सामना गरेको छ। 

राजस्थान भने ४ अंकका साथ अंकतालिकाको पाँचौं स्थानमा छ। तर, उसले मुम्बईभन्दा एक खेल कम खेलेको छ। राजस्थानले दुई खेलमा जित हासिल गर्दा समान खेलमै पराजय भोगेको छ। 

प्रदर्शन नतिजा जे भए पनि राम्रो खेल्ने टिमले नै खेल जित्ने छ। यसआधारमा खेल जित्ने टोलीको ठोकुवा गर्न सहज देखिँदैन। 

असोज २०, २०७७ मंगलबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।