बुटवललाई प्रदेश सरकारको नयाँ प्याकेज 

बुटवललाई प्रदेश सरकारको नयाँ प्याकेज 

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई भने वित्तीय राजधानी बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

आन्दोलनलाई मत्थर पार्न प्रदेश सरकारले यस्तो निर्णय गरेको बताइएको छ। 

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदै छ। 

प्रदेश सरकारले गत शुक्रबार प्रदेशको राजधानी दाङको देउखुरीसहितको क्षेत्रमा राजधानी बनाउने प्रस्ताव पेश गरेको थियो। 

प्रस्तावको विरोधमा नेपाली कांग्रेससँगै रूपन्देहीका विभिन्न संघसंस्थाले विरोध गरेपछि रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई समेट्ने गरी सरकारले आर्थिक तथा पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो।

बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग जोडिएका क्षेत्र तिलौराकोट, देवदह, रामग्रामलगायत क्षेत्रलाई समेटेर विकास गर्ने उद्देश्यले प्रदेश सरकारले यी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानीका रूपमा विकास गर्ने निर्णय गरेको मन्त्री चौधरीले बताए। 

यस्तै, बैठकले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने निर्णय पनि गरेको छ।

यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा अवरोध नभए मुख्यमन्त्री पोखरेलले रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने विषयबारे  प्रस्ताव संसदमा पेस गर्ने छन्।

असोज २०, २०७७ मंगलबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।